गोरखाबजार, २९ भदौ । ताप्ले गाविस –४ की ६० वर्षीय सुकलक्ष्मी श्रेष्ठको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
सोमबार पोखराबाट पक्राउ परेका पाँचखुवा देउराली गाविस–६ अमलेका धनबहादुर गुरुङलाई पत्रकार सम्मेलन गरी प्रहरीले आज सार्वजानिक गरेको हो । गुरुङले २०५२ साल असोज २७ गते बेलुकी श्रेष्ठ, उहाँकी नातिनी नौ वर्षीया पशुपति र सात वर्षीया सीतालाई विष मिसाइएको मिठाइ खान दिई गुरुङले सुकलक्ष्मीले लगाएको तीन तोला बराबरको सुनको गरगहना, रु ४५ हजार र जिन्सी सामान चोरेको अभियोग लगाइएको छ ।
मिठाइ खाएपछि बेहोस सुकलक्ष्मी, पशुपति र सीतालाई असोज २८ गते छिमेकीको सहयोगमा उपचारका लागि गोरखा जिल्ला अस्पताल ल्याइएकामा सुकलक्ष्मीको उपचारका क्रममा असोज २८ गते मृत्यु भएको थियो । उपचारपछि पशुपति र सीता भने घर फर्किएका थिए ।
श्रेष्ठको ताप्लेस्थित होटलमा बास बस्ने निहुँ बनाएर गुरुङले श्रेष्ठ परिवारलाई बेहोस बनाई लुटपाट गरी फरार भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले बताउनुभयो । गुरुङलाई कर्तव्य ज्यान मुद्दाअनुसार कारबाही चलाइएने प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया