१० कार्तिक २०८३, मंगलबार

स्थानीय प्रशासनले सिरहामा निषेधाज्ञा हटायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birganjaलहान, २९ भदौ । स्थानीय प्रशासनले विगत छ दिनदेखि सिरहाको नयाँ चोहर्वादेखि सिरहा नगरपालिकाको लच्कापुलसम्म लगाउँदै आएको निषेधाज्ञा आज बिहानदेखि हटाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले सो क्षेत्रको सुरक्षा अवस्था केही सामान्य बन्दै गएकाले आज बिहान ६ बजेदेखि निषेधाज्ञा हटाइएको जानकारी दिनुभएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान खोलादेखि कमला नदीको पुलसम्म राजमार्गको ५०० मिटर दायाँबायाँ क्षेत्रमा लगाइएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र भने कायमै रहेको जानकारी उहाँले दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले रुख ढालेर गरेको अवरोध प्रहरीले हटाउने क्रममा गत बुधबार साँझ प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि स्थिति असहज भएको भन्दै स्थानीय प्रशासनले बिहीबार १२ बजेदेखि लहानस्थित बलान खोलादेखि कमला नदीको पुलसम्म र सहायक मार्गको नयाँ चोहर्वादेखि सिरहाको लच्कापुलसम्मको क्षेत्रमा निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यसैबीच, संयुक्त मधेसी मोर्चा र थारु सङ्घर्ष समितिले आह्वान गरेको आमहडतालका कारण आज ३२औं दिन पनि सिरहाको जनजीवन प्रभावित भएको छ ।

आमहड्तालको ३२औं दिन आज पनि सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानसहित सदरमुकाम सिरहा, गोलबजार, मिर्चैया, बन्दीपुरलगायतका स्थानबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्थासमेत बन्द रहेका छन् । रासस