नयाँ दिल्ली, २८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकको मुख्यालयको भ्रमणमा जानुहुने भएको छ । सो जानकारी प्रधानमन्त्री मोदीले नै आफ्नो फेसबुक पेजबाट दिनुभएको हो ।
यसै महिनाको अन्त्यतिर संयुक्त राज्य अमेरिकाको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री मोदी अमेरिकामै रहेको फेसबुकको मुख्यालयमा पुग्नुहुने भएको हो ।
प्रधानमन्त्री मोदीले आफ्नो फेसबुक पेजमा भन्नुभएको छ– मलाई फेसबुकको मुख्यालयमा भ्रमणका लागि आमन्त्रण गरेकोमा मार्क जुकरवर्गलाई धन्यवाद दिन चाहन्छु ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रधानमन्त्री मोदीलाई सो कार्यालयको भ्रमणका लागि आमन्त्रण गर्नुभएको थियो । फेसबुक पेजबाटै गरिएको आमन्त्रणलाई प्रधानमन्त्री मोदीले पनि आफ्नो फेसबुक पेजबाटै स्वीकार गर्नुभएको हो ।
प्रविधिमा अगाडि रहनुभएका र सामाजिक सञ्जालको खुबै प्रयोग गर्ने गर्नुभएका प्रधानमन्त्री मोदीले जुकरवर्गको आमन्त्रणको जवाफमा सो जवाफ लेख्नुभएको हो ।
पाओलो अल्टोमा रहेको सो कार्यालयमा उहाँलाई फेसबुकका संस्थापक तथा अन्य प्राविधिकहरुसँगको अन्तरक्रियाका लागि आमन्त्रण गरिएको फेसबुकले जनाएको छ ।
त्यसैगरी जुकरबर्गले लेख्नुभएको आफ्नो फेसबुक पेजमा भन्नुभएको छ– हामीले यस कार्यालयमा बसेर सामाजिक र आर्थिक चुनौतीहरुलाई समाधान गर्नका लागि समुदायसँग कसरी साथसाथै काम गर्न सकिन्छ भन्ने बारेमा म र भारतीय प्रधानमन्त्रीले छलफल गर्नेछौँ ।
प्रधानमन्त्री मोदी गतवर्षमात्र भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लाग्नुभएको छ ।
प्रधानमन्त्री मोदी यसै महिनाको अन्त्यतिर अमेरिकाको भ्रमणमा जान लाग्नुभएको हो । उहाँको यस भ्रमणको एजेण्डा उहाँको आफ्नै नारा स्टार्ट अप इन्डिया (सुरु गरौँ भारत) मा केन्द्रित छ ।
उहाँले सेप्टेम्बर २८ मा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भेट्ने कार्यक्रम बनाउनुभएको बुझिएको छ । क्यालिफोर्नियाबाट फर्किएपछि उहाँले अमेरिकी राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया