भोजपुर, २७ भदौ । जिल्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रिकामा आएको समाचारको विषयलाई लिएर एकीकृत माओवादी भोजपुरका अध्यक्ष सुदन किराँतीले दिएको धम्किको विषयमा पत्रकारका संघ संगठनहरुले आपत्ति जनाएका छन् ।
भोजपुर पोष्ट साप्ताहिकका ब्यवस्थापक अर्जुन बस्नेतलाई समाचारको विषयमा पार्टी कार्यालयमा बोलाएर आफू अनुकुल समाचार प्रकाशित नभएको भन्दै बस्नेतलाई समाचार सच्याउन किरातीले धम्की दिएका थिए । किरातीले बस्नेतलाई धम्की दिँदै समाचार नसच्याए झडप हुने भनी चेतावनी दिएका थिए । उनले आफू अनुकुलको समाचार प्रकाशित गर्नका लागि पत्रिकामा विशेषांक नै प्रकाशित गर्न बस्नेतलाई दबाब दिएका थिए ।
यो विषयलाई लिएर जिल्लास्थित पत्रकारका संघ संगठनले आपत्ति जनाएका हुन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र किरात राई पत्रकार संघले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै समाचारको विषयमा धम्की नदिन बरु चित्त नबुझे कानुनी उपचार खोज्न सुझाएका हुन् ।
संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ, पीडितपक्षले न्याय र सुरक्षाका लागि कानुन कार्यान्वयन गर्ने निकायमा उजुरी दिएको र पीडकपक्षका रुपमा पूर्वसभासद् तथा जिम्मेवार नै मुछिएको कुरा सकडमा छताछुल्ल भइसकेको विषयलाई लिएर सञ्चारकर्मीलाई दिइएको धम्की निन्दनीय छ ।
समाचारको विषयलाई लिएर एउटा सञ्चारकर्मीलाई धम्कि दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप हो, विज्ञप्तीमा भनिएको छ । शाही शासनमा सरकारी संयन्त्रले आक्रमण गरेजस्तै एमोआवादीका केही नेताले भोजपुरमा सञ्चार माध्यम र सञ्चारकर्मीलाई लाउन खोजेको अंकुश र धम्कीपूर्ण व्यवहारको पत्रकारहरुले विरोध गरेका हुन् ।
भदौ महिनाको शुरुवात देखी नै जिल्ला विकास समिति भोजपुरको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी)मा कार्यरत शासन विज्ञ राजु शिवाकोटीलाई धम्किपूर्ण टेलिफोन आएको र उक्त धम्की दिने ब्यक्तिलाई मिलाउने भन्दै किरातीले शिवाकोटीसँग रकम मागेको खुलासा भएको थियो ।
जुन कुरा स्वयंम किराँतीले नै आयोजना गरेको पत्रकार सम्मेलनमा स्विकार गरेका थिए । यही विषयलाई लिएर पत्रिकाका व्यवस्थापक बस्नेतलाई उनले धम्की दिएका हुन् ।















प्रतिक्रिया