काठमाडौं । भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो। दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी कूटनीतिज्ञको घरमा दुई नेपाली युवतीलाई बन्धक बनाई चरम शारीरिक र मानसिक शोषण गर्ने गरेको सूचनाका आधारमा स्थानीय प्रहरीले सोमबार छापा मारेर उनीहरूलाई मुक्त गरेको थियो।दुई महिनादेखि सामूहिक बलात्कारसँगै शारीरिक र मानसिक शोषणमा परेका उनीहरूले नेपाल फर्काउन आग्रह गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँस्थित नेपाली दूतावासको संयोजनमा उनीहरू बिहीबार दिउँसो नेपाल ल्याइएको हो।
नेपाल आइपुगेका दुवै महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो संरक्षणमा लिएको छ। उनीहरूलाई वैदेशिक रोजगारीको आवरणमा पाशविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञकोमा पुर्यासउने समूहको खोजी सुरु गरेको ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लले जानकारी दिए।
बागलुङकी ५० वर्षीया महिलाका छोराछोरी सबै हुर्किइसकेका थिए। छोराछोरीले वास्तै गर्र्न छाडेपछि उनी घरेलु कामदारका रूपमा साउदी जान मानव तस्करको सम्पर्कमा पुगेकी थिइन्।
अर्की मोरङकी ३० वर्षीया महिला भने पति अपरेसन गरेर थलिएपछि घर खर्च जुटाउन वैदेशिक रोजगारीमा जान तयार भएकी थिइन्। दुवै महिला छुट्टाछुट्टै रूपमा वैदेशिक रोजगारमा पठाउने समूहको सम्पर्कमा पुगे पनि दलाल भने एकै थिए। उनीहरूलाई महिला दलालले नै मासिक ३० हजारको तलब पाउने प्रलोभन देखाई दिल्ली लगेर २ लाखमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
दुवै महिलाबारे अनुसन्धान गरिरहेकी ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार मानव तस्करीमा सक्रिय समूहले जेठ ४ मा दुईमध्ये ५० वर्षकी महिलालाई काठमाडौं–दिल्लीको सीधा बसबाट उता पुर्यासएको थियो। अर्की महिलालाई नेपालगन्जको रुट हुँदै दिल्ली पुर्याषइएको थियो।
दिल्लीमा यी दुवै महिलालाई लिन एकै व्यक्ति आएका थिए। दुवै महिलालाई होटलमा राखिएको थियो। अहिले बलात्कार, शारीरिक र मानसिक हिंसामा अनुसन्धान भइरहेका साउदी कूटनीतिज्ञले दुवै महिलालाई दिल्लीको एक होटलमा भेटेको उनीहरूको बयानमा खुलेको एसपी बज्राचार्यले जानकारी दिइन्।
बज्राचार्यका अनुसार प्रारम्भमा उनीहरूलाई दिल्लीको होटलबाट साउदीको फ्ल्याटमा लगेर घरेलु काममा लगाइएको थियो। भारतीय मिडियाले उनीहरूलाई अनवर र कल्पना नाम गरेकाले साउदी कूटनीतिज्ञलाई बिक्री गरेको दाबी गरे पनि ब्युरोले भने गिरोहमा संलग्नको पहिचान खुलाएको छैन।
मुम्बई–श्रीलंका–साउदी–दिल्ली
दिल्लीको होटलबाटै साउदी कूटनीतिज्ञको घरमा काम पाए पनि उनीहरूलाई त्यहाँ एक साता मात्र राखियो। एक सातापछि दलालले उनीहरूलाई हवाईमार्गबाट मुम्बई लगेर एक साता होटलमा राखेका थिए।
‘मुम्बईबाट उनीहरूलाई श्रीलंका लगेर एक साता राखेको देखियो,’ एसपी बज्राचार्यले भनिन्, ‘त्यसपछि दलालले उनीहरूलाई श्रीलकांबाट साउदी अरब पुर्याएए।’
साउदीमा उनीहरूलाई होटलमै राखियो। दिल्लीमा उनीहरूलाई हेर्न आएकै व्यक्ति पुनः साउदी पुगेका थिए। उनले दुवै नेपाली महिलालाई त्यहाँ एक महिना राखेर परिवारसहित पुनः दिल्ली ल्याएका थिए।
नेपाली महिलालाई दिल्लीमै घरेलु काममा लगाउँदा कानुनी अड्चन हुन सक्ने आशंकाले साउदी कूटनीतिज्ञले उनीहरूलाई दलालमार्फत साउदी पुर्यामएर पुनः दिल्ली ल्याएको प्रहरीको अनुमान छ।
दिल्लीमा पुरानै स्थानमा घरेलु कामदारका रूपमा लगिएपछि दुवै महिलामाथि मानसिक र शारीरिक शोषण सुरु भएको थियो। उनीहरूलाई घर बाहिर जान पूर्ण प्रतिबन्ध थियो भने मोबाइल लगायतका कुनै पनि सम्पर्क हुन सक्ने साधन प्रयोगमा रोक लगाएर शारीरिक र मानसिक शोषण गरेको दुवैले ब्युरोलाई बयान दिएका छन्।
‘घरको सामान्य काम हो भनेका थिए तर दिल्ली ल्याएपछि उनीहरूको व्यवहार फेरियो,’ पीडित महिलाको बयान उद्धृत गर्दै प्रहरी अधिकारीले भने, ‘खान दिएनन्, दिनभर काममा लगाए अनि पटक–पटक बलात्कार गरे।’
नैनिताल लगेर सामूहिक बलात्कार
पीडित महिलाको बयानअनुसार घरमै रहँदासमेत डिप्लोम्याट लगायतका घरका सदस्यले दुवै महिलामाथि पटक–पटक बलात्कार गरेका थिए। यतिमा मात्रै उनीहरूको राक्षसी व्यवहार रोकिएन। साउदी कूटनीतिज्ञले उनीहरूलाई भारतको नैनिताल पुर्याए र पाहुनाहरूबाट बलात्कार गराए।
साउदी कूटनीतिज्ञ, उनको परिवारका सदस्य र पाहुनाले दुवैसँग जबर्जस्ती प्राकृतिक-अप्राकृतिक सम्बन्ध राख्ने र शारीरिक यातना दिने गरेको प्रारम्भिक बयानमा खुलेको एसपी बज्राचार्यले जानकारी दिइन् । ‘दुवैको शरीरभरि चुरोटले पोलेको दाग छ,’ बज्राचार्यले भनिन्, ‘उनीहरू मानसिक रूपमा निकै कमजोर छन्।’ अाजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया