१ कार्तिक २०८३, शनिबार

भैरहवामा किन केन्द्रित भए मधेसी मोर्चाका शीर्ष नेता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Netaभैरहवा, २५ भदौ । तराई मधेसमा विगत २८ दिनदेखि जारी आन्दोलन कतै हिसंक भएको छ भने कतै शान्तिपूर्ण । मुलुकको पूर्वी तथा पश्चिम तराई मधेस क्षेत्रमा आन्दोलन अत्यन्तै हिंसक भइरहेको बेला आन्दोलनका कमाण्डरहरू भने केही दिनदेखि भैरहवामा अड्डा जमाएर बसेका छन् ।

गत साउन २७ गतेदेखि भैरहवा क्षेत्रमा जारी आन्दोलन शान्तिपूर्ण नै छ । यद्यपि यहां पनि आन्दोलनका क्रममा ४ जना आन्दोलनकारीको मृत्यु भइसकेको छ । मुलुकको अन्य क्षेत्रमा आन्दोलनकारीहरूसंग स्थानीय प्रहरी प्रशासनको झडप भएको छ । जसको कारण आन्दोलनकारी राज्य र त्यसका निकायविरुद्धमा आगो झै भएर मर या मार को अवस्थाबाट अगाडि बढेका छन् ।

भैरहवामा आन्दोलनकारी र स्थानियबीच झडप भयो । जसका कारण भदौ ३ र ४ गते स्थानीय प्रशासनले कर्फ्यु पनि लगाएको थियो । त्यसपछि प्रशासनले भैरहवा क्षेत्रलाई केन्द्र बिन्दुमा राखेर निषेधाज्ञा निरन्तर लगाइरहेको छ ।

प्रशासनले निषेधाज्ञा आगमी भदौ २९ गते साँझसम्म लगाएको जिल्ला प्रशासन कार्यलयका प्रेम रोकाले जनाएका छन् ।

शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू केन्द्रित भएका छन् । बुधवार भैरहवामा विरोधसभा गरेका नेताहरूले भैरहवामा लगाइएको निषेधित क्षेत्र तोड्न आन्दोलनकारीलाई निर्देशन दिएका थिए ।

भैरहवा–बेथरी–लुम्बिनी सडकखण्डको घाघरा पुल क्षेत्र
भैरहवा–बेथरी–लुम्बिनी सडकखण्डको घाघरा पुल क्षेत्र

जसको कारण बिहीवार आन्दोलनकारीले निषेधित क्षेत्र नतोडेपनि नेपालकै सबैभन्दा ठूलो अर्घाखाची सिमेन्ट उद्योगमा तोडफोड गरेका छन् । प्राप्त जानकारीअनुसार लुम्बिनी क्षेत्रका सरकारी कार्यलयमा नेपाल सरकारको ठाउँमा मधेस सरकार लेखिरहेका छन् ।

कार्यकर्ताहरु उग्र र अनियन्त्रित देखिएको सुरक्षा निकायको भनाइ छ । मोर्चाका कार्यकर्ताहरुले भैरहवा–बेथरी–लुम्बिनी सडकखण्डका विभिन्न ठाउँहरुमा बीच सडकमै ढुंगा तेर्साएर आवागमन रोकेका छन् । उनीहरुले सोही क्षेत्रबाट किसानका दुध, तरकारी र ज्यालादारीका मजदुरलाई समेत भैरहवामा आउजाउ गर्न अवरोध गरेका छन् ।

कार्यकर्ताहरुले त्यस क्षेत्रका प्रहरी चौकीमा समेत तोडफोड र आगजनीको प्रयास गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । सुरक्षा व्यवस्था भने कडा पारिएको उहाँले बताउनुभयो ।

मोर्चाको बैठक बिहीबार दिउँसो भैरहवामा बस्यो । स्थानीय होटेल रेडसनमा सम्पन्न बैठकमा मोर्चाका केन्द्रीय नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, सवेन्द्रनाथ शुक्ला र ओमप्रकाश यादव गुल्जारीको सहभागिता रहेको थियो ।

रुपन्देही सदरमुकाम भैरहवादेखि ३ किलोमिटर पूर्व परासी तौलिहवा हुलाकी सडकखण्ड बसन्तपुर गाविसमा रहेको सो होटेलमा मोर्चाको केन्द्रीय बैठक बसेको संघीय समाजवादी फोरम पार्टीका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताउनुभयो ।

बैठक बिहान साढे ९ देखि दिउँसो १ बजेसम्म चलेको उहाँले बताउनुभयो । बैठक लगत्तै नेताहरुले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका थिए ।

बैठकले भैरहवा भन्सारलगायत मुलुकका प्रमुख नाकाबाट कुनै पनि सरसमान छिर्न नदिनेगरी नाकाबन्दी गर्ने मुख्य प्रस्ताव पारित गरेकोछ ।

भैरहवा–बेथरी–लुम्बिनी सडकखण्डको घाघरा पुल क्षेत्र
भैरहवा–बेथरी–लुम्बिनी सडकखण्डको घाघरा पुल क्षेत्र

नाकाबन्दी अभियानअन्तर्गत काठमाडौंमा दानापनि बन्द अभियान चलाउने निर्णय गरेको सद्भावना पार्टीका उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले बताउनुभयो ।

बैठकमा नेताहरुले आफूहरु वार्ताका लागि तयार रहेको तर, सरकारले सही वातावरण नबनाएको आरोप लगाएका थिए ।

बैठकले वार्ताका लागि तयार रहदा रहदै पनि सरकार नै उदासिन रहेको निश्कर्ष निकाल्दै आन्दोलन जारी राख्ने निर्णय गरेको नेताहरुले जानकारी दिए । बैठकले आन्दोलनलाई थप शसक्त बनाउने निर्णय समेत गरेकोछ ।

बिगतमा सरकारसंग वार्ताको वातावरण बनाउन राखिएका शर्त पूरा नभएसम्म वार्तामा जान नसकिने, मधेसमा रहेका सैनिकहरुलाई फिर्ता बोलाउनुपर्ने जारी रहेका कर्फ्यु र निषेधाज्ञा फिर्ता लिनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहीद घोषणा, घाइतेलाई निःशुल्क उपचारको ब्यवस्था गर्नुपर्ने, तत्कालको लागि संविधान निर्माण प्रक्रिया रोक्नुपर्नेलगायतका प्रस्तावहरुमाथि छलफल गरी मागको रुपमा सरकार समक्ष राख्ने निर्णय गरेको तमलोपा जिल्ला प्रवक्ता मोहमद इस्लाम खाँनले बताउनुभयो ।

court-adesshयसैबीच थरुहट संयुक्त संघर्ष समिसतले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग गर्दै आएको सहकार्य तोड्ने भएको छ । थरुहट संघर्ष समितिका केन्द्रीय नेता भैरहवाबाट बुधवार पक्राउ पर्दासमेत बुधबार नै मोर्चाको विरोध सभामा सो विषयमा कुनै कुरा नउठाइनुले गर्दा थारुहरुले मधेसी मोर्चासंग गरेको सहकार्य तोड्ने मनसायमा पुगेको थरुहट संघर्ष समितिका एक केन्द्रीय सदस्य जनाए ।

यसैबीच थारु नेता लक्ष्मण थारुलाई पक्राउ गरेको सम्बन्धमा जिल्ला अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बिहीबार दिउँसो सुनुवाइ भएको छ । अदालतका मुख्य न्यायाधीश बालचन्द्र शर्माको एकल इजालसले स्थानीय प्रशासनको नाममा आदेश जारी गर्दै लक्ष्मण थारुलाइ किन पक्राउ गरिएको हो ? उनको अवस्था अहिले के छ ? कहाँ राखिएको छ । सो सम्बन्धमा २४ घण्टाभित्र लिखित जवाफ दिन जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई आदेश दिएको छ ।

निवेदक थारुको तर्फबाट सरस्वती चौधरीले दिएको निवेदनमा अधिवक्ताहरू शिवप्रसाद गौडेल, धर्मबहादुर खड्का, गुणनिधी लम्साल, प्रदीपकुमार यादव, नरसिंह चौधरी, शेषमान यादव, मनोज कुमार चौधरी, रामकुमार, सत्येन्द्र कुमार लालदास, सावीर खान, दिलिप मल्लीक, सुवदार प्रसाद, विना सिंह, हरिशंकर लालदासले बहस गरेका थिए ।

चौधरीलाई टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनको कमान्डिङ् गरेको अभियोगमा प्रहरीले भैरहाबाट पक्राउ गरी कैलाली पठाइसकेको छ ।

कुन नेता कहाँ बसेका छन ?

नेताहरु बैठक बसेको रिर्सोट
नेताहरु बैठक बसेको रिर्सोट

मधेसी मोर्चाका नेताहरु विगत तीन दिनदेखि रुपन्देहीमा छन् । उनीहरु विभिन्न होटलहरुमा बसेका छन् । उपेन्द्र यादव आफ्ना नातेदार प्रमोद यादवको बसन्तपुरस्थित रेडसन रिर्सोटमा छन् । मोर्चाको बैठक सोही रिर्सोटमा बसेको थियो ।

महन्त ठाकुर भैरहवाको निर्वाणा होटलमा बसेका छन् । अर्का नेता राजेन्द्र महतो भैरहवाको मुख्य चोकमा रहेको पवन इन्टरनेशनल होटलमा बसेका छन् । त्यस्तै सर्बेन्द्रनाथ शुक्ला भैरहवाको गल्लामण्डीस्थित आफ्नै घरमा बसेका छन् भने ओमप्रकाश यादव गुल्जारीपनि आफ्नै निवासमा छन् ।