– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २४ भदौ । आन्दोलनका क्रममा ओपिडी सेवा समेत बन्द भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका चिकित्सकले इमरजेन्सी सेवा र कोलियामा बसेर विरामीको स्वास्थ्य जाँच गरेका छन् ।
माथेमा कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नगर्न दबाब स्वरुप नेपालगन्ज मेडिकल कलेजले ओपिडी सेवा बन्द गरेपछि चिकित्सकले इमरजेन्सी र कोलियामा बसेर स्वास्थ्य जाँच गरेका हुन् ।
सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिले मेडिकल कलेज धरासायी हुने भन्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनको घोषणा गरेको हो । आन्दोलन अन्तरगत चिकित्सकले यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका थिए ।
ओपिडी सेवा बन्द भएपछि उपचारका लागि आएका विरामी उपचारबाट बञ्चित भएका छन् । मेडिकल कलेजको निर्णय अनुसार इमरजेन्सी र कोलियामा बसेर जटिल समस्याका विरामीको उपचार गरिएको नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. प्रकाश नागले बताए ।
विरामीको उपचार गर्ने आफूहरुको पेशा भएकोले अस्पतालमा आएका विरामीको कोलिया, इमरजेन्सी र अन्य ठाउँमा बसेर उपचार गरिएको नेपालगन्ज मेडिकल कलेजका अर्को फिजिसियन डा. ज्ञानेन्द्र पाण्डेले बताए । उनले भने, ‘कलेजको निर्देशन अनुसार ओपिडी सेवा बन्द गरेर अन्य ठाउँमा बसेर विरामीको जाँच गरिरहेका छौँ ।’ उनले उपचार पाउने अधिकारबाट बञ्चित हुन नदिन विरामीको उपचार गरिएको समेत बताए ।
एशोसिएसनको निर्णय अनुसार मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आइतबार कालोपट्टी बाँधेर काम गरिएको थियो । भने, बुधबारबाट बहिरंग र अन्तरंग सेवासमेत बन्द गरिएको हो । एमबिबिएस अध्ययनरत विद्यार्थीको चार दिनपछि सुरु हुन लागेको परीक्षालाई ध्यानमा राखेर शैक्षिक कार्यक्रम जारी राखेपनि परीक्षा सकिनासाथ शैक्षिक कार्यक्रम पनि स्थगित गर्ने तयारी एशोसिएसनको छ ।
माथेमा कार्यदलले एक सय ५० बाट सय सीटमा झार्ने र ३५ लाखमा एमबिबिएस पढाउने प्रतिवेदन अनुसार सरकार र डा. केसीबीच सहमति भएको छ ।















प्रतिक्रिया