काटमाठौं । भारतको राजस्थानको फलोदीका सामाजिक सञ्जालमा चर्चित ओमप्रकाश बिश्नोईको इन्स्टाग्राम र फेसबुक गरी २१ लाखभन्दा बढी फलोअर्स छ ।
सामाजिक सञ्जालमा लाखौं लाइक, भिडियोहरूमा करोडौं भ्युज हेर्ने अनुयायीहरू भए पनि उनले हालैको स्थानीय गाउँ सरकार (पञ्चायत) सरपञ्चको चुनावमा ३३ भोट मात्र पाए ।
सामाजिक सञ्जालमा आफ्नो छुट्टै पहिचान बनाएका ओमप्रकाशले चुनावी प्रक्रियामा हार व्यहोरेका हुन् ।
इन्टरनेटमा अत्यधिक लोकप्रिय भए पनि निर्वाचनमा उनले अपेक्षा गरेअनुरूपको जनसमर्थन पाउन नसकेका हुन् ।
ज्योतिषी समेत रहेका ओमप्रकाशले फलोदीस्थित इन्द्रोनकी धानी ग्राम पञ्चायतबाट सरपञ्च पदका लागि चुनाव लडेका थिए ।
पञ्चायतमा करिब १६ सय मतदाता थिए, तर नतिजा सार्वजनिक हुँदा उनले जम्मा ३३ मत मात्र प्राप्त गरेका हुन् ।
उनले चुनावका बेला सामाजिक सञ्जालमा पनि प्रचारप्रसार गरेका थिए, तर उनको यो लोकप्रियता मतपेटिकासम्म पुग्दा भोटमा परिणत हुन सकेन ।
निर्वाचनमा भएको हारप्रति निराशा व्यक्त गर्दै ओमप्रकाशले सामाजिक सञ्जालमा देखिने लोकप्रियता र धरातलीय समर्थनका बीच ठूलो अन्तर हुने पाएको बताएका छन् ।
उनले भनेका छन्, ‘सामाजिक सञ्जाल एउटा कुरा हो, तर वास्तविकता अर्कै छ । मैले पाएका ३३ मतमध्ये ११ मत त मेरो आफ्नै परिवारबाट आएको थियो । बाँकी भोटहरू मसँगै पढेका र खेलेका साथीहरुबाट, तथा मेरा नजिकका व्यक्तिहरूबाट आएका हुन् ।’
तर, उनले यस हारलाई सिक्ने अवसरका रूपमा लिएको बताए । उनले पहिलोपटक चुनाव लड्दा मतदाताहरूसँग जोडिनु कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा आफूलाई बुझ्न मद्दत पुगेको बताए ।
ओमप्रकाशले यो हारपछि आफू राजनीतिबाट पछि हट्ने मनसायमा नरहेको स्पष्ट पारेका छन् ।
आगामी पाँच वर्षसम्म गाउँलेहरूकै बीचमा बस्ने, उनीहरूका पीरमर्का बुझ्ने तथा पानी, सडक र अन्य आधारभूत सुविधासँग सम्बन्धित समस्याहरू समाधान गर्न काम गर्ने योजना रहेको उनको भनाइ छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको युट्युबमा पनि ५ लाख भन्दा बढी सब्सक्राइबरहरू छन् ।
उनका भिडियोहरू सामाजिक सञ्जालमा प्रायः भाइरल हुने गर्छ । उनी विशेष गरी भिडियोहरू परम्परागत र ग्रामीण शैलीमा खाना खान्छन्, जसमा प्रायः प्रशस्त मात्रामा घिउको प्रयोग गरिएको हुन्छ ।















प्रतिक्रिया