५ कार्तिक २०८३, बिहिबार

यी हुन् डनको साम्राज्य फैलाउने ठेकेदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Campaigners Call For Tougher Knife Lawsकाठमाडौं, २४ भदौ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी मुठभेडमा मारिएपछि उनको कनेक्सनका बारेमा नयाँ रहस्य बाहिर आएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचन, डन घैंटे, रोसन कन्स्ट्रक्सनका सञ्जय गुप्ता, एपेक्स निर्माण सेवाका रमेश अधिकारीको मिलेमतोमा निर्माणका ठेक्काहरुमा कार्टेलिङ हुने गरेको रहस्य खुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ स्रोतका अनुसार घैंटे मारिनु दुई महिनाअघि मात्र झण्डै डेढ अर्वको तीनवटा ठेक्काबाट यो समूहले १० करोड भागवण्डा गरेको थियो । घैंटेले गजुरमुखी निर्माण सेवाको नामबाट दुई करोड हात पारेका थिए ।

जसमध्ये उनले आधा रकम कांग्रेस नेता तथा सभासद् जगदिश नरसिंह केसीलाई पनि बाँडेका थिए । गजुरमुखीमा केसीकी श्रीमती मायाँको शेयर रहेको छ ।

विराटनगरको सडकलाई ६ लेन बनाउने ठेक्का, बागमती ढल र जनकपुरको सडकको ठेक्कामा यो समूहबीच ठेक्कामा कार्टेलिङ भई मिलेमतोमा भागवण्डा गरिएको थियो ।

भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधी र शिक्षा मन्त्री चित्रलेखा यादवलाई हातमा लिई गौचन, गुप्ता र अधिकारीले विकास निर्माणका ठेक्काका कामहरुमा एकछत्र राज गर्दै आएका छन् । जसमा घैंटेलाई फिल्डमा उतारेर साना तिना समूहलाई मिलाउने गरिएको थियो ।

घैंटेद्धारा आयोजित कार्यक्रममा शिक्षामन्त्री यादव उपस्थित हुनुले पनि उनीहरुबीचको सम्बन्ध कहाँसम्म रहेछ भन्ने पुष्टि हुन्छ ।

स्रोतका अनुसार १० करोड रकम गौचनको समूहले निर्माण व्यवसायीको कार्यालयमै बाँडेपछि पैसा नपाएका असन्तुष्ट कर्मचारीहरुले यो रहस्य बाहिर ल्याएका थिए ।

जुन कुरा अहिले महानगरिय प्रहरी अपराध महाशाखाले छानविन गरिरहेको छ । जनकपुरमा सामान्य पेटी ठेक्का गर्ने गुप्ताले नै घैंटेलाई मन्त्री यादवसँग भेटाएको समेत खुलेको छ ।

गुप्ताको कनेन्सन कहाँसम्म ?

‘जनकपुरदेखी भैरहवासम्मको ठेक्का मिलाउँछु । म शिक्षामन्त्री चित्रलेखा यादबको भाइ हुँ । नेपाली काग्रेसका नेता तथा भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधीको दाहिने हात हुँ । काठमाडौंका डन कुमार श्रेष्ठ मेरो पार्टनर हो । मैले काम लिनको लागि मन्त्री निधीलाई दश करोड ‘टोकन मनी’ दिइसकेको छु ।’

भन्दै सञ्जय गुप्ताले केही महिनाअघि सर्वसाधरण र व्यापारीलाई जनकपुरमा तर्साएका थिए । उनले टोले ठेकेदारहरुलाई तिमीहरु पनि काम लिने हो भने २५ लाखको दरले पैसा जम्मा गर, असार मसान्त सकिनासाथ टेण्डर खुल्छ भन्दै असुलेका थिए ।

जनकपुरका आपराधिक समूहका नाइके तथा नेता सञ्जय टक्ला जेल गए तर अर्का सञ्जय गुप्ताको भने यतिखेर राज चलेको छ ।

उनले मन्त्री निधी र यादबको नाम भजाएर ठेकदारलाई समेत बेवकुफ बनाइ करोडौं रुपैयाँ असुलेको चर्चाले जनकपुरमा हंगामा मच्चिएको थियो ।

स्रोतका अनुसार गुप्ता सिंचाई मन्त्रालय र भौंतिक योजना तथा निर्माण मन्त्रालयका कर्मचारीलाई सरुवा तथा बढुवा गर्ने नाममा पनि पैसा उठाउँछन् ।

गुप्ताले भैरहवादेखी बिराटनगरसम्मको ठेक्काको काम सेटिङ गर्छु भन्दै एक दर्जन ठेकेदारसँग २५ लाखको दरले पैसा उठाएका थिए ।

गुप्ताले मन्त्री निधीलाई सेटिङ मिलाउन आफूले दश करोड दिएको भन्दै उनले उक्त रुपैयाँ उठाउन थालेको हल्ला निर्माण व्यवसायी महासंघमा चलेको थियो ।

गुप्ताले आफ्नो सम्बन्ध डन घैंटेसँग भएको दाबी गर्दै अन्य ठेकदारलाई तर्साउने गरेको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो ।

गुप्ताले डन घैंटेसँग मिलेर कालिमाटी, छाउनी र किर्तीपुरको सडक बनाउने काम गरेको दाबी गर्दै घैंटेसँग राम्रो सम्बन्ध भएको पुष्टि गर्न खोजेका थिए ।