काठमाडौं, २२ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि सभामा दफावार छलफल गरियोस’ भन्ने प्रस्तावमा मधेश केन्द्रित राजनीतिक दलहरूको बहिष्कारका बाबजुद संविधानसभाको बैठक आजबाट सुरु भएको छ ।
संविधानसभाको भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा संशोधनकर्ताहरूले आफ्ना संशोधन प्रस्तावहरू पेश गरेका छन् ।
बैठकको सुरुमै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट तराई मधेश सद्भावना पार्टीका सभासद महेन्द्र राय यादवले सम्बोधन गर्नुभएको थियो । उहाँले आफ्ना धारणा राख्दै संविधानसभा बैठक बहिरिएको घोषणा गर्नुभएको थियो ।
संविधानसभामा सम्बोधन गर्दै यादवले भन्नुभयो, ‘सरकार वार्ताका लागि तयार भएन । जसरी चासो र चिन्ता जनाउनुपर्ने हो त्यो देखाएको पाइएन । यसै अवस्थामा संविधान निर्माण गरिए देशले निकास पाउँदैन ।’
उहाँले वार्ताका लागि सरकारले वातावारण नबनाएको बताउनुभयो । यादवले यस्तै अवस्थामा संविधान बनाए मुलुकलाई द्वन्द्वतर्फ लैजाने बताउनुभयो ।
सभासद यादवले मधेशमा नेपाली सेना परिचालन गरेर वार्ताको वातावरण तयार नहुने बताउनुभयो । उहाँले वार्ताका लागि सेना फिर्ता र हाम्रा प्रारम्भीक माग पूरा गरिए वार्ताको टेबुलमा बस्ने बताउनुभयो ।
संविधानसभाको जारी बैठकमा संशोधनकर्ताहरूले आआफ्नातर्फबाट संशोधन प्रस्तावहरू पेश गरिरहेका छन् ।













प्रतिक्रिया