काठमाडौं, २२ भदौ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले नयाँ सहमतिको परिस्थिति निर्माण नभएसम्म संविधान घोषणाको जारी प्रक्रियाबाट आफूलाई अलग गराएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्षसहितको सभासदहरूको टोलीले आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सिंहदरबारमा भेट गरी संविधान घोषणाको प्रक्रियाबाट अलग भएको जानकारी गराएको हो । ‘नयाँ सहमतिको परिस्थिति निर्माण नभएसम्म संविधान घोषणाको जारी प्रक्रियाबाट हाम्रो पार्टी अलग भएको जानकारी गराउँदै सहमति निर्माणको लागि अध्यक्ष ज्यूबाट हुने सम्पूर्ण सकारात्मक पहलहरूमा हाम्रो पार्टी र म सदैव रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी गराउँदछौँ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
अध्यक्ष नेम्वाङलाई ध्यानाकर्षण तथा संविधान जारी गर्ने प्रक्रियाबाट अलग भएको जानकारी पत्र बुझाएपछि पत्रकारसँग कुरागर्दै गच्छदारले संविधान निर्माणको कार्यमा आफ्नो सधै सहयोग रहने बताउनुभयो । तर उहाँले थारुहरूका मागलाई सम्बोधन गर्न माग गर्नुभयो ।
तीन ठाउँको मुहानको पानी खाँदै आएका प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीलाई आफूले एकै ठाउँमा ल्याएको बताउनुभएका अध्यक्ष गच्छदारले भन्नुभयो, ‘मेरै कारण संविधान निर्माणको कार्य यो चरणसम्म आइपुगेको हो । मेरै कारण १६ बुँदे सहमति भएको हो ।’
उहाँले १६ बुँदेमा भएको सहमतिलाई उल्लंघन गरेर प्रमुख तीन दलले छ प्रदेश हुँदै सात प्रदेश बनाउन सहमति गरेको बताउनुभयो । गच्छदारले सात प्रदेशको सहमतिमा आफ्नो कुनै समर्थन नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थारु र मधेशीहरूले राखेका माग सम्बोधन नभइ बनाइएको संविधान जारी भए दिगो शान्ति हुँदैन । यथाअवस्थामा संविधान जारी गरिए देश ठूलो दुर्घटनामा जान सक्छ ।’












प्रतिक्रिया