झापा, २२ भदौ । प्रदेशको सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै पूर्वमा आन्दोलनरत दलहरुबीच आआफ्ना आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउने सहमति भएको छ ।
पूर्वमा आन्दोलन सशक्त बनाउँदै लगेका विभिन्न आठ घटक संलग्न लिम्बूवान संयुक्त सङ्घर्ष समिति र १९ वटा घटक तथा सङ्गठनको मोर्चा कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिबीच संवाद समूहको सचिवालय झापाको संयोजनमा बिर्तामोडमा सोमबार भएको छलफलमा त्यस्तो सहमति भएको हो ।
सहमतिअनुसार भदौ २४ र २५ गते लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आमहडतालको आह्वान गरेको भए पनि २४ गते बिर्तामोडमा हुने कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिको बृहत् जनसभाका लागि सहभागी लिएर ब्यानर र झन्डासहित आउने गाडीलाई अवरोध नगर्ने सहमति भएको छ ।
त्यस्तै एक अर्का मोर्चाबीच कुनै पनि प्रकारको आरोप प्रत्यारोप र विरोधी नाराबाजी नगर्ने, आन्दोलनमा घुसपैठ हुन नदिन दुवै पक्ष सजग र सचेत रहनेसमेत सहमति भएको छ । आन्दोलनका क्रममा कुनै समस्या आए संवादकै माध्यमबाट समाधान गर्नेसमेत सहमति भएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताउनुभयो ।
लिम्बूवान संयुक्त सङ्घर्ष समितिका तर्फबाट भक्त खेवाङ लिम्बू, धनबहादुर पन्धाक सुब्बा, धीरेन लावती, एनपी बनेम र परशुराम मगर र कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिका तर्फबाट संयोजक त्रिनारायण राजवंशी तथा सूर्यनारायण गणेश, सुरेश यादव, सन्तोष राजवंशी र खकेन राजवंशीले हस्ताक्षर गर्नु भएको संवादका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया