
– मोहन विष्ट/शितल भट्ट
महेन्द्रनगर, २२ भदौ । कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरी नगरपालिका– ८ विद्यानगरकी शारदादेवी बोहरा यति बेला आफ्नो जीवनसाथी केशब बोहराको काजक्रिरियामा बसेकी छिन् ।
काठमाडौं खानेपानी कार्यालयमा बरिष्ठ लेखा सहायक पदमा कार्यरत शारदा टीकापुरमा मारिएका आफ्नो जीवनसाथी केशब बोहराको काजक्रिरियामा बसेकी हुन् ।
भदौ ७ गते टीकापुरमा एक नाबालकसहित बरिष्ठ प्रहरी उपरीक्षक, दुई निरीक्षकसहित ९ जनाको क्रुर हत्यामा शारदाका श्रीमान् केशब बोहरा पनि मारिएका थिए ।
सोमबार बिहान शारदाको मोबाइलमा ८ बजेर ३० मिनेटमा घण्टी बज्यो । त्यो फोन थियो । टीकापुरमा क्रुर हत्या गरिएका शारदाका श्रीमान् केशब बोहराको । बोहराले शारदालाई फोनमा भनेका थिए । आज डियुटी कडा छ । थरुहटका आन्दोलनकारीहरूले टीकापुरका सरकारी कार्यालयमा थरुहटका साइनबोर्ड लगाउने, कार्यालय तोडफोड गर्ने कार्यक्रम छ ।
लल । राम्रोसँग डियुटी गर्नुहोला । टीकापुर खुला सीमा नाका छ । हतियारधारीसमेत आन्दोलनमा आएका हुनसक्छन् । आफू र आफ्ना मातहतका जवानहरूलाई राम्रोसँग तैनाथका साथ डियुटीमा राख्नुहोला । आन्दोलन हिंसात्मक हुनसक्छ । हतियार बोकेर जानुहोला र चनाखो भएर तयारीमा बस्नुहोला । हुन्छ, हुन्छ तिमीले त्यो भन्नुपर्दैन् । बेलुकी फोन गर्छु बाईभन्दै प्रहरी निरीक्षक बोहरा र उनकी श्रीमतीबीच सोमबार बिहान यस्तो सम्वाद भयो ।
‘मेरो मनले मानेन् मैले फेरि ११ बजे फोन गरे उहाँले फोन काट्नुभयो । मैले सोँचे व्यस्त हुनुहोला, खाली भएपछि, फोन गर्नुहोला । पर्खी राखे… पर्खी राखे…तर फोन आएन्’, बोहराकी श्रीमती शारदाले गहभरि आँसु चुहाउँदै भन्नुभयो, ‘मलाई शंका लागेर मैले देबर नवीन, फुपाजुलगायत आफन्तहरूलाई श्रीमानको अवस्थाबारे बुझ्न आग्रह गरे । उहाँको अवस्थाबारे सबैले पहिल्यै थाहा पाए, तर मँसग भनेका थिएनन् । मैले अफिसमा टिभी हेरे टिभीमा एसएसपी न्यौपानेसहित दुई जना इन्सपेक्टरसहितको हत्या भएको समाचार सुने । मेरो मन बहकियो । कार्यालय समयकै बीचमै घर गए ।’
म घर पुग्दासम्म मेरो घरमा मानिसहरू जम्मा भएका थिए । मलाई थाहा भयो, श्रीमान् पनि बाँच्नुभएन् । श्रीमान् पाउने आशा टुट्योभन्दै शारदाले फेरि गहभरि आँसु चुहाउँदै…कुन बैरीले हाम्रो खुसी लुट्यो ।
बेलौरी विद्यानगर घरमै क्रिरियामा बसेकी शारदाले भन्नुभयो, ‘जसरी मेरो श्रीमान् लगायतका राष्ट्रसेवक प्रहरीको तडपाइँ तडपाइँ हत्या गरियो, यस्तो क्रुर हत्या गर्ने हत्यारालाई कार्बाही गर्नुपर्छ ।’ दोषी सानो या ठूलो जो सुकै होस् कुनै पनि हालतमा कार्बाही हुनुपर्ने उहाँको माग छ ।

दोषीलाई कार्बाही भएमात्रै मृतकको आत्माले शान्ति पाउने र उनको परिवारमा समेत राहत महसुस हुने उहाँले रुँदैरुँदै भन्नुभएको छ ।
प्रहरी कर्मचारीमाथि भएको हत्या राज्यका लागि समेत चुनौती थपेको उहाँको भनाइ छ । मृतक बोहराका दुई होनहार छोराहरू छन् । उनीहरू पनि बुवा गुमाउनु परेको पीडाले निकै मर्माहत र शोकमा डुबेका छन् ।
ललितपुर डिएभी बोडिङ्ग स्कुलमा अध्ययनरत बोहराका जेठा छोरा सार्थक र कान्छा सुवन बोहरा पनि बुवाको क्रियाका लागि बेलौरी घर आएका छन् । स्कुले उमेरमै बुवा गुमाउनुको पीडाले उनी कोपिलाका मन थामिएका छैनन् । १४ वर्षीय सार्थक र १० वर्षीय सुवनले बुवाको सपना पूरा गर्ने बताएका छन् ।
उनीहरूले पनि आफ्नो बुवाको हत्या गर्नेलाई कार्बाही हुनुपर्ने बताएका छन् । सार्थक ८ र सुवन ६ मा पढ्दै छन् । बुवा गुमाउनुको पीडाले उनीहरूको भविष्यमा समेत प्रभाव पारेको छ ।
मृतक बोहरा प्रहरी हुनुभन्दा पूर्व आम जनताको अधिकारका लागि विक्रम संवत २०४६ सालको जनआन्दोलनमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा युवाहरूको नेतृत्व लिँदै आन्दोलनमा होमिएका थिए ।
सानैदेखि मेहनती, ईमान्दार, कर्मठ, कौशलता भएका मिलनसार परिवारको जेठो छोरा गुमाउनुको पीडाले मर्माहत भएका बोहराका बुवा प्रेमसिंह बोहराले पनि घटनाका दोषीहरूलाई राज्यले कुनै पनि हालतमा कानुनी दायमा ल्याउनुपर्ने माग गर्नुभयो ।
घटना योजनाबद्ध भएको भन्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा घटना घटाउनेहरूलाई राज्यले सार्वजनिक गर्नुपर्ने उहाँको धारणा छ । ‘यस्तो क्रुर अमानवीय हत्या गर्नेहरूलाई कार्बाही नगरे, यो देश रहला की नरहला ।’ उहाँले गहभरि आँसु चुहाउँदै भन्नुभयो ।
प्रहरीका उच्चपदस्थदेखि जवानहरूको यसरी निहत्थाको हत्या भएपछि अब सर्वसाधारणको सुरक्षामा समेत चुनौती थपेको उहाँको विश्लेषण छ । घटनालाई राजनीतिकरण नगर्न समेत उाहँले आग्रह गर्नुभएको छ ।
‘यो नितान्त निहत्या हो, मृतकको आत्मा शान्तिका लागि पनि दोषीलाई यथाशीघ्र कार्बाही हुनुपर्छ’, उहाँले भन्नुभयो । एक दिनअघि आन्दोलनकारीहरूले आन्दोलन शान्तिपूर्वक गर्ने प्रतिबद्धता जाहेरसहित जिल्ला प्रशासन कार्यालय कैलालीमा लिखित सहमति गरेको भोलिपल्टै प्रहरीमाथि नरसंहार हुनुको पछाडि कारण रहेको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने उहाँको माग छ ।
‘प्रहरीलाई राज्यले हतियार चलाउन दिएको कि, भित्र लुकाउन दिएको हो’, उहाँले भन्नुभयो, ‘टीकापुर घटना निकै षडयन्त्रमुलक छ, केही दलहरूले दोषीलाई पक्रदाँ बिरोध गर्दै छन् । अपराधीलाई पक्राउ गर्दा बिरोध गर्नेहरू पनि दोषी हुनसक्छन् ।’
बोहराले उच्चस्तरीय छानबिन टोलीसँग कसैको दबाब, प्रभाव र प्रलोभनमा नपरी घटनाको निश्पक्ष, सत्य, तथ्य छानबिन गर्न समेत आग्रह गर्नुभएको छ । देश र जनताको निम्ति आफ्नो प्राणको आहुती दिने यस्ता वीर सपुतहरूलाई राज्यले उच्च सम्मान दिनुपर्ने उनको भनाइ छ ।
निरीक्षक केशबका बाबु बोहराले हत्या गरिएका प्रहरीका बारेमा मानव अधिकार आयोगले समेत कुनै पहल नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रहरीले कसैलाई एक लठ्ठी हान्दा समेत मानव अधिकार भन्दै बोल्ने मानव अधिकारकर्मीहरूको यो घटनामा यस्तो छ भूमिका ? के प्रहरी मानव होइन्, खै यो घटनामा मानव अधिरकर्मी आयोग बोलेको ? ‘पहिले सबै मिली देश बचाऔँ, त्यसपछि पो देश भित्र बसेका सबैको भलो हुन्छ’, उहाँले भन्नुभयो ।
शीर्ष नेताले बोहरालाई दिए आश्वासन र समवेदना

टीकापुर घटनामा जेठो छोरा (रगत) गुमाएका कञ्चनपुरका समाजसेवी प्रेमसिंह बोहरालाई शीर्ष नेताहरूले फोनमार्फत दोषीलाई कारबाही गराइ छाड्ने आवश्वासन दिएका छन् ।
शुक्रबारसम्ममा एमाओवादी अध्यक्ष तथा पूर्व प्रधामन्त्रीद्वय पुष्पकमल दाहाल, एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेस नेता तथा सिँचाइमन्त्री नारायण प्रकास साउँदले टेलिफोनमार्फत बोहरालाई यस्तो आवश्वासन दिएका हुन् । कांग्रेस नेता रमेश लेखक त बोहराको अन्तेष्टीमा पनि सहभागी भएका थिए ।
एमाओवादी नेता हरिबोल गजुरेल, कञ्चनपुर क्षेत्र नम्बर १ का संविधानसभा सदस्य दिवान सिंह विष्टलगायत सबै कांग्रेस सभासद, एमाओवादी नेतृ विना मगर, कांग्रेस टेड यूनियनका अध्यक्ष खिलानाथ दाहाल, एमाले टे«ड यूनियनका अध्यक्ष विष्णु रिमाल, एमाओवादी टेड युनियनका शालिग्राम जमरजट्टेल, आईएलओकी विन्दा पाण्डे, नेपाल प्रहरीका एआजी केदार साउँद, डिआईजी माधव नेपाल, महाकाली अञ्चलका एसएसपी रमेश प्रशाद फुयाललागतय कांग्रेस, एमाले एमाओवादीका शीर्ष नेतादेखि नेताहरूले घटनाप्रति खेद प्रकट गर्दैै दोषीलाई कानुनी कार्बाही गर्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आवश्वासनका साथै सवेदना दिएका छन् ।
विक्रम संवत २०५१ सालमा प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएर प्रहरीमा सेवा गरेका बोहरा तीन पटक मिसनमा गइसकेका थिए ।
यू.एन, हाईटी, लाईबेरीया सुरक्षा मिसनमा कुशलता पूर्वक सेवा गरेका बोहरालाई हाईटीमा १२ महिनाका लागि बोलाएपनि त्यहाँको सरकारले उहाँको नेतृत्व देखेर प्रभावित भई नेपाल प्रहरीलाई अनुरोध गर्दै ६ महिना थप गरेका थिए ।
बोहरा समाजिक काम विभिन्न प्रतियोगितामा पनि उत्कष्ठ भई पुरुस्कार प्रदान गरेका थिए । केशवलाई गुमाउनुको पीडाले उनको परिवारजन, आफन्त, ईष्टमित्र, सार्थीभाई सहकर्मीलगायत स्थानीयहरूको उनको परिवारलाई समवेदना दिन घरमा दिनहुँजसो घुइचो लागेको छ ।
टीकापुर घटनामा टीकापुरकै नाबालक टेकबहादुर साउद, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, ईन्सपेक्टरद्वय केशब बोहरा, बलराम विष्ट, प्रहरी हवल्दार जन बहादुर नेगी, प्रहरी जवान ललित चन्द, सशस्त्र प्रहरीका हवल्दार रामबिहारी चौधरीलगायत ९ जनाको क्रुर हत्या भएको थियो । ईन्सपेक्टरद्वय बोहरा, विष्ट, हवल्दार नेगी र जवान चन्द कञ्चनपुरकै स्थानीय हुन् ।












प्रतिक्रिया