काठमाडौं, १५ भदौ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले कुवेतलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
क्वालालम्पुरको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २५० रनको सम्मानजनक स्कोर बनाउन सफल भयो । नेपालको सुरुवात राम्रो नभए पनि मध्यक्रममा ब्याट्सम्यान सम्हालिएपछि सम्मानजनक स्कोर बनेको हो ।
नेपालका लागि सौरभ खनाल र दीपेन्द्रसिंह ऐरीले १३० रनको महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्रले ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८५ रन बनाउँदा सौरभले ५ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे ।
त्यस्तै, प्रेम तामाङले २३, कप्तान राजु रिजाल १५, सुनिल धमलाले ११, शङ्कर रानाले ८, आशिष धामी ४ रन बनाउँदा आरिफ शेख र राजवीर सिंहले भने खातासमेत खोल्न सकेनन् ।
२५१ रनको जवाफी लक्ष्य लिएर मैदान उत्रिएको कुवेतले ५० ओभरमा ९ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र जितसँगै नेपाल ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।















प्रतिक्रिया