टोकियो, १४ भदौ । जापानले संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनको चिनियाँ सैनिक प्रदर्शन (परेड) मा भाग लिन जाने योजनाको आलोचना गरेको छ ।
जापानले चीनद्वारा जापानलाई दोस्रो विश्वयुद्धमा पराजित गरेको ७० औँ वर्षगाँठमा बेइजिङमा मनाउन लागिएको उक्त प्रदर्शनमा राष्ट्रसङ्घ तटस्थ रहनुपर्ने अडान जनाएको छ ।
जापानी सरकारी प्रवक्ता योसिहाइउ सुगाले संयुक्त राष्ट्रसङ्घ यस्ता गतिविधिमा तटस्थ रहनुपर्ने टोकियोको अडान रहेको बताउनु भएको छ । चिनियाँ सेनाले बिहीबार मनाउन लागेको उक्त प्रदर्शनमा १२ हजार सेनाले परेड खेल्ने र २०० भन्दा बढी सैन्य विमान आकाशमा उडाइने कार्यक्रम छ ।
चिनियाँ अधिकारीका अनुसार दुई दर्जन बढी राष्ट्र तथा सरकार प्रमुखले सहभागिता जनाउने उक्त प्रदर्शनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हे तथा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालगायतको विश्व प्रसिद्ध नेताले सहभागिता जनाउने भएका छन् । रासस/एएफपी















प्रतिक्रिया