काठमाडौं, ११ भदौ । एसीसी यू-१९ प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई १४९ रनले अन्तरले पराजित गरेको हो ।
मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले यूएईलाई २ सय रनको लक्ष्य दिएको थियो । विजयी लक्ष्यसहित मैदानमा आएको यूएई २०.५ ओभरमा मात्र ५० रनमा समेटियो । नेपालको घातक बलिङसामू यूएईका ५ जना ब्याट्सम्यानहरु डकआउट भए ।
खेलमा यूएईका कप्तान वारुना परेराले सर्बाधिक ३२ रन जोडे । अर्का ओपनर जफिर जफादिनले १२ रन जोडे । त्यस्तै ३ जना ब्याट्म्यानहरुले समान १–१ रन जोडे । नेपालका लागि सौरभ कँडेलले ४, सुनिल धमलाले ३ र प्रेम तामाङले २ विकेट लिए ।
यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर १९९ रन बनाएको थियो । नेपालको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र १ रनमा आउट हुँदा टीमको स्कोर मात्र ३ रन थियो । त्यसपछि पनि नेपाली ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् र ६५ रन जोड्दा ५ विकेट गुमायो ।
सन्दिप सुनार १८, आरिफ शेख २२, राजवीर सिंह ५ र योगेन्द्र सिंह कार्की २ रनमा आउट भए । तर, कप्तान राजु रिजालले कप्तानी पारी खेले । उनले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सातौं विकेटका लागि शौरभ खनालसँग समान ५२/५२ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत २० रनमा आउट भए भने खनालले २४ रन जोडे ।
राजु रिजालले ८४ बलमा ६ चौका र एक छक्काको मदतमा ६२ रन बनाए । प्रेम तामाङ १, सुशील कँडेल ६ रनमा आउट भए भने दिपेश श्रेष्ठ १२ रनमा अविजित रहे । यूएईका जाफरी जफरदीनले तीन विकेट लिए । अब्दुल्लाह आसिफ र इसान अली खानले समान २/२ विकेट लिए ।















प्रतिक्रिया