२९ आश्विन २०८३, बिहिबार

टेलिसेन्टर प्रभावकारी रूपमा सञ्चालन भएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Telicenter

इलाम, ४ असार । जिल्ला हुलाक कार्यालयअन्तर्गतका आठ स्थानमा सञ्चालित टेलिसेन्टर सरकारले उपलब्ध गराउनुपर्ने सेवासुविधा उपलब्ध नगराउँदा प्रभावकारी बन्न सकेका छैनन् ।

टेलिसेन्टरका लागि २४सैँ घण्टा विद्युत् सेवा र दक्ष प्राविधिकको अभावमा प्रभावकारी बन्न नसकेका हुन् । जिल्लाका इलाका हुलाक कार्यालयअन्तर्गत साँखेजुङ, फिक्कल, हर्कटे, जमुना, नयाँबजार, पशुपतिनगर, जितपुर र मङ्गलबारेमा सञ्चालित टेलिसेन्टर विद्युत्भार कटौतीको मारमा पर्ने गरेका छन् ।

‘विद्युत् लाइन गएमा अर्काे व्यवस्था छैन, ग्रामीण क्षेत्रमा झ्याप्प–झ्याप्प जाने गर्छ’, जिल्ला हुलाक कार्यालय इलामका लक्ष्मी खनालले भने । विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा ग्रामीण क्षेत्रमा सञ्चालित टेलिसेन्टर समस्यामा परेका हुन् ।

टेलिसेन्टरमा फोटोकपी, इ–मेल इन्टरनेट, कम्प्युटर, फोन, फ्याक्स राखिएका छन् । तर बेलाबखत बिग्रिरहने गरेकाले समस्या निम्तिएको छ । सरकारले पूर्वाञ्चलका लागि एकजना मात्र प्राविधिक तोकेकाले बिग्रने बित्तिकै बनाउन नसकिने समस्या छ ।

‘पूर्वाञ्चलका लागि एकजना प्राविधिक छन्, टेलिसेन्टरमा सामान बिग्रिरहने समस्याले प्राविधिकले बनाउनै मुस्किल पर्छ’, खनाल भने, ‘एकजना प्राविधिकको भर पर्दा एक वर्षसम्म लाग्न सक्छ ।’

टेलिसेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने सरकारले जिल्ला हुलाक कार्यालयलाई व्यवस्थापनको जिम्मा दिनुपर्ने उनको भनाइ छ । टेलिसेन्टरमा एक थान सिडिएमए फोन, कम्प्युटर, फोटोकपी, लेमिनेसन, फ्याक्स र कम्प्युटर राखिएको छ ।

टेलिसेन्टरबाट स्थानीयले कम्प्युटर शिक्षासमेत लिने गरेका छन् । टेलिसेन्टरलाई आवश्यक खर्च उपलब्ध नहुँदासमेत व्यवस्थित गर्न नसकिएको कर्मचारीको गुनासो छ । टेलिसेन्टरमा आवश्यक सेवासुविधा नहुँदा आम्दानी समेत कम भइरहेको कर्मचारीहरू बताउँछन् ।

फोटोकपी, कम्प्युटर सिकाइ, फोन, फ्याक्स आदिबाट जुन आम्दानी हुनुपर्ने थियो त्यो अनुसार नभएको हुलाक कार्यालयका अर्का कर्मचारी गणेशप्रसाद घिमिरेले बताए । सरकारले १० औँँ पञ्चवर्षीय योजनामा सूचना प्रविधि दु्रतगतिमा बढाउँदै लैजाने नीतिअनुसार इलाममा पहिलोपटक पाँच स्थानमा र त्यसपछि थप तीन स्थानमा गरी आठ स्थानमा अत्याधुनिक सेवासहितको टेलिसेन्टर स्थापना गरेको हुलाक कार्यालयले जनाएको छ । रासस