
काठमाडौं, ९ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान निर्माणका क्रममा असन्तुष्ट देखिएको समूहसँग सरकारले वार्ता गरी निकास निकाल्नुपर्ने बताउनुभएको छ । उहाँले आन्दोलनरत सबै पक्षसँग वार्ता गर्नुपर्ने बताउनुभयो ।
पार्टी मुख्यायल बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बैद्यले सरकारले वार्तामा बोलाए आफूहरू पनि सम्वाद गर्न तयार रहेको बताउनुभयो ।
‘सरकारले आन्दोलनरत सबै समूहका मागलाई सम्बोधन गर्न पहल गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘हामीलाई वार्ताका लागि पत्र आएको छैन । पत्र आयो भने वार्तामा बस्छौं ।’ नेकपा–माओवादीले वार्ताका लागि पूर्वसर्त अघि सारेको छ ।
नेकपा–माओवादीले संविधानसभालाई विघठन गर्नुपर्ने पुरानो अडानलाई दोहर्याएको हो ।
अध्यक्ष बैद्यले संविधानसभाबाट नयाँ संविधान बनाउने विषय क्षीण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेना परिचालन गरेर संविधान निर्माण गर्ने विषय जनतालाई अधिकार नदिने खेल हो । उत्पीडित र पिल्सिएको समूदायलाई अधिकारविहीन बनाउने खेल भएको छ ।’
कैलाली जिल्लाको टीकापुरमा भएको घटना छानविन गर्न माग गर्नुभएका अध्यक्ष बैद्यले नेपाली सेना परिचालन गर्ने सरकारी निर्णय फिर्ता गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले चार दलका शीर्ष नेताहरूले दमन गरेर संविधान बनाउन खोजेको आरोप लगाउनुभयो । ‘दमन गरेर कस्तो संविधान निर्माण गर्न लागिएको हो ?’, उहाँले भन्नुभयो, ‘अधिकार र पहिचानका लागि भएका आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’
टीकपुरमा भएको हिंसात्मक प्रदर्शनमा तराईहरूले घुसपैठ गर्नुभएको आरोप छ नी ? भन्ने प्रश्नमा अध्यक्ष बैद्यले भन्नुभयो, ‘जायज मागका लागि भएका आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता छ । तर हिंसालाई हाम्रो समर्थन छैन । सबै आरोप गतल हुन् । बरु राज्यले टीकपुरको हिंसा गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।’
अध्यक्ष बैद्यले टीकापुरको घटनालाई लिएर गृहमन्त्रीले जिम्मेवारी लिइ राजीनामा दिनुपर्ने माग गर्नुभयो ।
‘साँचो अर्थमा भन्ने हो भने टीकापुर घटनापछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो’, अध्यक्ष बैद्यले भन्नुभयो, ‘थारुले अधिकारका लागि गरेको आन्दोलनमा दमन गरेर अधिकार कुन्ठित भएको छ ।’












प्रतिक्रिया