१३ मंसिर २०८३, आइतबार

दबाब दिएर इनम सापकोटालाई बयान फेर्न लगाएको विषयमा छानबिन गर्न आङ्देम्बेको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोप गम्भीर भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

सापकोटाले श्रीमती कविता पाण्डेमार्फत शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशरेर जबरा, कांग्रेस नेता उमेश श्रेष्ठलगायतका व्यक्तिविरूद्ध बयान दिए छाडिदिने र नत्र फसाइदिने धम्की दिइएको उल्लेख गरेपछि आङ्देम्बेले आरोपको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।

विपक्षी दलका नेता आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका इमनलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भएको सत्य भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन्।

‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ? यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो,’ उनले भनेका छन्।

आङ्देम्बेले हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको भनिएको विषय, बयान तयार पार्ने प्रक्रिया र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकासमेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

राज्यका अनुसन्धानकारी निकायलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुने भन्दै उनले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।

सत्ता स्थायी नहुने स्मरण गराउँदै राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्नेमा जोड दिँदै आङ्देम्बेले भनेका छन्, ‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ। राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुदै होइन। सरकार क्षणिक सनकमा होइन, संविधान र विधिको शासनमा चल्नुपर्छ भन्ने विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’