१३ मंसिर २०८३, आइतबार

रुसी हाउसमा वरिष्ठ नेपाली चित्रकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ तथा नेपाल संवत् ११४७ को अवसर पारेर वरिष्ठ नेपाली चित्रकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी आयोजना गरिएको छ।

काठमाडौंस्थित रुसी हाउसमा शुक्रबार आयोजित प्रदर्शनी नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघ (एनआरएफसीए) र रुसी हाउसको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए। कार्यक्रममा नेपालका लागि रुसी दूतावासका उपप्रमुख तथा मन्त्री–परामर्शदाता रिन्चेन रक्षाएभ विशेष अतिथिका रूपमा सहभागी थिए। उनीहरूले परम्परागत पानसमा दीप प्रज्वलन गरी प्रदर्शनीको औपचारिक शुभारम्भ गरेका थिए।

कार्यक्रममा रुसी हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै नेपाल र रुसबीचको सम्बन्ध सुदृढ बनाउन सांस्कृतिक आदानप्रदानको महत्त्वमाथि प्रकाश पारिन्।

उनले कला र संस्कृतिले दुई देशका नागरिकबीच आपसी समझदारी, मित्रता र जनस्तरको सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन्।

कार्यक्रमको अन्त्यमा नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका उपाध्यक्ष अच्युत नन्द भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए।

कलाकारबारे

वरिष्ठ चित्रकार किरण मानन्धर नेपाली समकालीन चित्रकलाका स्थापित व्यक्तित्व हुन्। उनले दशकौँदेखि नेपालको कला तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

उनले सन् १९९८ मा फ्रान्सको पेरिसस्थित सिटे इन्टरनेसनल डेस आर्ट्समा फेलोसिप प्राप्त गरेका थिए। त्यसैगरी, सन् २०१० मा स्थापना भएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपतिका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए।

नेपाली कलाक्षेत्रमा नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने र उनीहरूको क्षमता विकासमा सहयोग पुर्‍याउने काममा पनि मानन्धरको महत्त्वपूर्ण योगदान रहेको छ।

प्रदर्शनीले अवलोकनकर्तालाई कलाकार मानन्धरको सिर्जनात्मक दृष्टिकोण र नेपालको समृद्ध कलात्मक परम्परा नजिकबाट नियाल्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। साथै, कला र संस्कृतिमार्फत दुई देशबीचको मित्रता, सद्भाव र आपसी समझदारीलाई थप मजबुत बनाउन सकिने सन्देशसमेत प्रदर्शनीले दिएको छ।

प्रदर्शनी सफल बनाउन सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशेष अतिथि, कलाकार, सहभागी तथा अन्य सबैप्रति रुसी हाउस र नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघले आभार व्यक्त गरेका छन्।

नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघको आयोजना र काठमाडौंस्थित रुसी हाउसको सहकार्यमा सम्पन्न भएको हो।

तस्वीरहरु-