दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।
सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिए ।
अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले भने, “पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ ।”
सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए ।
प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उनको भनाइ छ ।
नेपाल र चीनबीचको समझदारीअनुरुप विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको थियो ।











प्रतिक्रिया