काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
१४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् ।
कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् ।
संयोजक डा. महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् ।
पार्टीभित्र देखिएको विवादका सन्दर्भमा बोल्दै महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरेका हुन् ।
‘हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ । नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ महतले भने, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ । हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो ।’
उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।
महतले पार्टीको संगठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने उनले बताए ।
कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५ औं महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।
महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ ।
यसअघि महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा. महतलाई जिम्मेवारी दिएको थियो ।
त्यस्तै, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।











प्रतिक्रिया