१० मंसिर २०८३, बिहिबार

एकेडेमी क्रिकेट लिग सुरु, स्टारको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । नेपालमै पहिलोपटक रुपन्देहीमा एकेडेमी क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा बिहीबारदेखि भैरहवास्थित सिद्धार्थ रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

ग्रासरुटबाटै टेस्ट र एकदीवसीय प्रतियोगिताका लागि खेलाडी तयार पार्ने उद्देश्यले सेतो ड्रेसमा रातो बलबाट एकेडेमी लिग सुरु गरिएको हो ।

बिहीबार भएको उद्घाटन खेलमा स्टार क्रिकेट एकेडेमीले नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीलाई १२ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्टारले निर्धारित ३० ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रन बनायो । उसका लागि अमित यादवले ४३, समिरजंग ठकुरीले ३९, आशिष यादवले १६ र सहन अलीले १२ रन जोडे । बलिङमा नेपथ्य तिलोत्तमाका रुद्रान्स भट्टराईले ३, अशोक भण्डारीले २ तथा स्वीकार न्यौपने, प्रेमसागर यादव र अनुकुल खनालले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले २९ ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्रै बनाउन सक्यो । उसका लागि प्रेमसागर यादवले २९, सुशान्त सुवेदीले २०, अनुज अर्यालले १८, रुद्रान्स भट्टराईले १४, स्वीकार न्यौपानेले १३ र दर्शन क्षेत्रीले १२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा स्टारका प्रेम गुप्ताले ४ तथा सुमन विष्ट र सहन अलीले समान ३–३ विकेट लिए । खेलमा स्टारका प्रेम गुप्ता प्लेयर अफ द म्याच भए ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सचिव उदयकुमार मल्लिक र खेल संयोजक भुवन पाण्डेले ग्रासरुट क्रिकेट विकासका लागि प्रतियोगिता फलदायी हुने विश्वास व्यक्त गरे ।

उनीहरुले तल्लो तहबाटै यस्ता प्रतियोगिता आयोजना गर्दा समग्रमा राष्ट्रकै क्रिकेट विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

जिल्लाका ८ वटा एकेडेमी सहभागी प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने छ ।