८ मंसिर २०८३, मंगलबार

‘सुल्तान’ र ‘मर्दानी’ खिचेका छायांकारले खिच्दैछन् प्रदीपको ‘२६ करोड’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘२६ करोड’लाई एसियन तथा युरोपियन चलचित्रका अनुभवी छायांकार आर्टुर जुराव्स्कीले छायांकन गर्ने भएका छन् ।

चलचित्र छायांकनका लागि आर्टुर नेपाल आइपुगेका छन् ।

शनिबार नेपाल आइपुगेका आर्टुरले आइतबारबाट वर्कसप समेत जोइन गरेका छन् । विकास सुवेदीको निर्देशन रहने चलचित्रको हाल वर्कसप भइरहेको छ । मंसिर १५ गतेबाट चलचित्रको छायांकन सुरू हुने निर्माता सुभाष भुषालले जानकारी दिए ।

आर्टुर पोल्याण्डका छायांकार हुन् । जसले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली चलचित्र उद्योगमा काम गरिसकेका छन् । यसअघि उनले विकास निर्देशित नेपाली चलचित्र ‘सिरजरा’मा काम गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो ।

आर्टुरले बलिउडमा सलमान खानको ‘सुल्तान’, रानी मुखर्जीको ‘मर्दानी’, सञ्जयदत्तको ‘भूमी’जस्ता सफल चलचित्रको छायांकन गरेका छन् । जून चलचित्रले अन्तर्राष्ट्रियरूपमा समेत ख्याति कमाएका थिए ।

आर्टुरले पोलिस नेशनल फिल्म स्कूलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका हुन् । उनले छायांकन गरेका चलचित्रले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनी आफैँ पनि बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेमाटोग्राफी मेन्टरका रूपमा आबद्ध भइसकेका छन् ।

भारतीय चलचित्रबाहेक उनले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चलचित्रहरू ‘हेड टु लभ’ (अमेरिका), ‘व्हेयर वुड यू लाइक टु गो ?’ (साउथ कोरिया–पोल्याण्ड), ‘लोकाटोर्का’, ‘इज् पोद प्रोंद’को छायांकन समेत गरेका छन् ।

अगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको चलचित्रमा प्रदीप खड्का र सारा अरएल शाहको मुख्य भूमिका रहनेछ । सारा बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी हुन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्देशक सुवेदीकै लेखन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, निर्माता भुषालकै संगीत, हर्क साउदको शब्द र मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ ।

असोज पहिलो साता मुम्बईको ‘ताज ल्याण्ड्स इन्ड’ होटलमा चलचित्रको घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा बलिउड अभिनेता ओबेरोय समेत उपस्थित थिए ।