८ मंसिर २०८३, मंगलबार

काठमाडौंमा रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक आयोजना हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने भएको छ । रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो ।

संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ । दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय र्‍यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन् ।

भारतीय हिपहप संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका डिभाइनसँगै नेपाली र्‍यापर साकारले पनि प्रस्तुति दिनेछन् ।

त्यस्तै, लोकप्रिय नेपाली ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउँले भाइ, इस्ट्रीज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिनेछन् । नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संस्कृतिलाई समेत कार्यक्रममा विशेष स्थान दिइने आयोजकले जनाएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिसँग जोडिएको अवधारणाबाट सुरु गरिएको हन्टरहुडलाई संगीतमा रुचि राख्ने युवा, कलाकार, स्केटर तथा सिर्जनात्मक समुदायलाई एकै ठाउँमा जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौंको मौलिक कला, संगीत र बढ्दो सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले यसपटक नेपाललाई आयोजनास्थलका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ ।

महोत्सवमा संगीतबाहेक स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल, बास्केटबल लगायतका गतिविधि पनि सञ्चालन हुनेछ । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा स्केटपार्कका गतिविधि सञ्चालन हुनेछ । स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौती समेत राखिएको छ, जसमा सहभागीले आफ्नो सीप प्रदर्शन गरी पुरस्कार जित्न सक्नेछन् । इश्ना गोएक्ना र मस्रुन स्केटले स्केटपार्कका गतिविधिको नेतृत्व गर्नेछन् ।

त्यस्तै, एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा विभिन्न सडक खेल तथा मनोरञ्जनात्मक चुनौतीहरू सञ्चालन गरिनेछन् । फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र गिल्ली डण्डालगायतका खेलमा दर्शकले समेत सहभागी हुन पाउनेछन् ।

नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई पनि कार्यक्रममा समेटिएको छ । लाखे नाच, भैरव तथा काली नृत्यका साथै ओटाकु जात्राको कस्प्ले प्रस्तुतिले महोत्सवलाई थप विविधतापूर्ण बनाउनेछ । पाओलो नेपालले टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन र चार्म बनाउने कार्यशाला सञ्चालन गर्नेछ भने बाखन न्याने वाःले परम्परागत मुखौटा निर्माणसम्बन्धी कार्यशाला आयोजना गर्नेछ । सहभागीले फ्रेन्ज ट्याटु इनमार्फत ट्याटु तथा फेस पेन्टिङको अनुभव लिन सक्नेछन् ।

महोत्सवमा स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष फ्ली मार्केटसमेत रहनेछ । कापा, लाइबरलाई, ब्याज नेपाल, दोचा नेपाल, बाबल वेयर्स र ओटाकु जात्राका उत्पादनका साथै रोयल इन्फिल्डका पोसाक तथा एसेसरिज त्यहाँ उपलब्ध हुनेछन् ।

खानाका पारखीका लागि पनि विभिन्न स्टल रहनेछन् । स्क्युयर्स नेपाल, मिस्टर वाफल्स, स्वीट फिक्स, स्वर्ल आइसक्रिम, फेमस लाफिङ हाउस–टोखा, इटमःमो, टु सिस्टर्स, पाकशाला, फुल्की पोइन्ट र जेमिज बबल टीले विभिन्न परिकार तथा पेय पदार्थ उपलब्ध गराउनेछन् ।

आयोजकका अनुसार हन्टरहुड काठमाडौं कुनै एउटा सांगीतिक कार्यक्रम मात्र नभई सहरको कला, संस्कृति, खेलकुद, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै थलोमा प्रस्तुत गर्ने महोत्सव हुनेछ । कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ । टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ ।