८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीको भारत भ्रमण : आश्वासन होइन, परिणामको अपेक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–विमल सुवेदी

नेपाल र भारतबीचको सम्बन्ध सामान्य दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध मात्र होइन । यो सदियौँदेखि विकसित ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक सम्बन्धको विशिष्ट उदाहरण हो । दुवै देशका धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र जीवनशैलीमा धेरै समानता छन् । पौराणिक ग्रन्थहरूमा उल्लेखित भारतवर्षको सभ्यतादेखि नेपालको तपोभूमिको पहिचानसम्म यी दुई भूगोलको सम्बन्ध जोडिएको छ । राजा जनकको मिथिला, भगवान् राम र सीताको विवाहसँग जोडिएको धार्मिक तथा सांस्कृतिक इतिहासले नेपाल–भारतबीचको रोटीबेटीको सम्बन्धलाई अझ गहिरो बनाएको छ ।

खुला सिमाना, पारिवारिक सम्बन्ध, धार्मिक तीर्थस्थल, व्यापार र रोजगारीका अवसरले यी दुई देशका नागरिकलाई पुस्तौँदेखि एकअर्कासँग जोड्दै आएका छन् । त्यसैले नेपाल र भारतको सम्बन्धलाई केवल कूटनीतिक दस्ताबेज र राजनीतिक भेटघाटबाट मात्र मापन गर्न सकिँदैन ।

तर सम्बन्ध जति पुरानो र आत्मीय छ, त्यति नै यसमा समय–समयमा अविश्वास, असमझदारी र तिक्तता पनि देखिँदै आएको छ । यही विरोधाभास आजको नेपाल–भारत सम्बन्धको एउटा प्रमुख यथार्थ हो ।

आत्मीय सम्बन्धभित्रका तिक्तता

नेपाल र भारतबीचको सम्बन्धमा बेलाबेलामा देखिने समस्या नयाँ होइनन् । सन् १९८९ र २०१५ का नाकाबन्दी तथा आपूर्ति अवरोधका अनुभव नेपाली समाजको स्मृतिमा अझै ताजा छन् । त्यस्तै, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवादले दुई देशबीच विश्वासको वातावरण निर्माण गर्न चुनौती थपेका छन् ।

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेका थिए । उक्त प्रस्तावलाई भारतले समर्थन नगर्नुले पनि नेपालको एउटा महत्त्वपूर्ण राष्ट्रिय आकांक्षाका विषयमा दुई देशबीच मतभिन्नता रहेको इतिहास सम्झाउँछ ।

त्यसैगरी, विभिन्न समयमा भएका सन्धि–सम्झौताको असमानता र कार्यान्वयनसम्बन्धी प्रश्नले पनि नेपाली जनमानसमा असन्तुष्टि पैदा गरेको छ ।
नेपालका कतिपय राजनीतिक दल र नेताहरूले भारतसँगका यिनै संवेदनशील विषयलाई आन्तरिक राजनीतिक लाभका लागि प्रयोग गरेको आरोप पनि लाग्दै आएको छ । सत्ता प्राप्तिका बेला राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाका विषयलाई जोडतोडका साथ उठाउने तर सत्तामा पुगेपछि ती विषयलाई प्राथमिकतामा नराख्ने प्रवृत्तिले जनतामा निराशा बढाएको छ । राष्ट्रियता चुनावी भाषणको विषय होइन, राज्य सञ्चालनको स्थायी आधार बन्नुपर्छ ।

भारतको भूमिका र नेपालको अपेक्षा

भारत नेपालका लागि ठूलो छिमेकी मात्र होइन, प्रमुख व्यापारिक साझेदार, पारवहनको मुख्य मार्ग र आर्थिक सहकार्यको महत्त्वपूर्ण पक्ष पनि हो । भारतले नेपालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा र सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसलाई अस्वीकार गर्न मिल्दैन ।

तर यति हुँदाहुँदै पनि नेपालमा ठूला पूर्वाधार आयोजना, दीर्घकालीन आर्थिक साझेदारी र रणनीतिक महत्त्वका परियोजनामा भारतीय सहयोग अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्ने नेपाली पक्षको गुनासो छ । सहमति भएका आयोजनाहरू समयमै सम्पन्न नहुनु, व्यापारमा बढ्दो असन्तुलन र नेपाली उत्पादनले भारतीय बजारमा भोग्नुपर्ने कठिनाइले सम्बन्धमा थप प्रश्न उठाएका छन् ।

भारतले नेपालमा विकास र समृद्धिको साझेदार बन्न चाहेको हो भने घोषणाभन्दा कार्यान्वयनमा जोड दिनुपर्छ । विश्वास भाषणले होइन, व्यवहारले निर्माण हुन्छ ।

भारतको नेपालप्रतिको नीतिमा कतै नेपाल स्वतन्त्र, समृद्ध र आर्थिक रूपमा सबल बनेको देख्न भारत इच्छुक छैन कि भन्ने आशंका नेपाली जनमानसमा बेलाबेला उठ्ने गरेको छ । यो आशंकालाई तथ्यका रूपमा प्रस्तुत गर्न मिल्दैन, तर यस्तो धारणा किन पैदा भइरहेको छ भन्ने विषयमा भारतले पनि आत्मसमीक्षा गर्नु आवश्यक छ ।

समानताको सम्बन्ध : भूगोल सानो होला, स्वाभिमान होइन

नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने समय आएको छ । भारत जनसङ्ख्या, अर्थतन्त्र, सैन्य शक्ति र अन्तर्राष्ट्रिय प्रभावका हिसाबले ठूलो राष्ट्र होला, तर नेपाल एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र हो । राष्ट्रको आकार र आर्थिक क्षमताले राष्ट्रिय स्वाभिमानको मूल्य निर्धारण गर्दैन ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले हालै गरेको भारत भ्रमणका क्रममा यो यथार्थ आत्मसात् गरेको हुनुपर्छ । नेपालले भारतसँग मित्रता चाहेको छ, प्रतिस्पर्धा होइन । सहकार्य चाहेको छ, अधीनता होइन । समानता चाहेको छ, विशेष व्यवहार होइन । हाम्रो खुला सीमाको संवेदनशीलतालाई पनि दुवै देशले समान गम्भीरताका साथ बुझ्नुपर्छ । नेपाली नागरिकको ठूलो सङ्ख्या रोजगारी, शिक्षा, उपचार र व्यापारका लागि भारत जाने गरेको छ ।

त्यसैगरी, भारतीय नागरिक पनि नेपालमा विभिन्न अवसरका लागि आउने गरेका छन् । तर दुई देशको जनसङ्ख्या, आर्थिक आकार र सामाजिक संरचनामा ठूलो अन्तर छ । त्यसैले खुला सीमाबाट उत्पन्न हुन सक्ने सुरक्षा, अपराध, अवैध कारोबार र आप्रवासनसम्बन्धी चुनौतीलाई समान जिम्मेवारी र व्यावहारिक समझदारीका साथ व्यवस्थापन गर्नुपर्छ । खुला सीमा दुवै देशका नागरिकका लागि अवसर र विश्वासको माध्यम बनिरहोस्, समस्या र असुरक्षाको कारण नबनोस् ।

हवाई मार्गको ढोका

नेपाल भूपरिवेष्टित राष्ट्र हो । अन्तर्राष्ट्रिय कानुनले भूपरिवेष्टित राष्ट्रहरूलाई समुद्रसम्म पहुँच र पारवहन स्वतन्त्रताको अधिकार प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनसम्बन्धी महासन्धिले पनि यस विषयलाई सम्बोधन गरेको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापार र आर्थिक विकासका लागि समुद्रसम्मको सहज, भरपर्दो र प्रतिस्पर्धी पारवहन पहुँच अत्यन्त महत्त्वपूर्ण छ ।

भारतसँगको पारवहन सम्बन्धलाई अझ सहज, व्यवस्थित र प्रतिस्पर्धी बनाउनु आवश्यक छ । नेपाली वस्तुको आयात–निर्यातमा अनावश्यक झन्झट, ढिलाइ र अतिरिक्त लागत कम हुनुपर्छ । नेपालले वैकल्पिक पारवहन मार्गको उपयोग गर्न पाउने विषयमा पनि व्यावहारिक सहजीकरण हुनुपर्छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय हवाई उडानका लागि थप हवाई प्रवेश मार्ग नेपालको अर्को महत्त्वपूर्ण आवश्यकता हो । भैरहवा, पोखरा र पश्चिम नेपालका विमानस्थलहरूको प्रभावकारी सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारका लागि भारतीय हवाई क्षेत्रको सहज पहुँच आवश्यक छ । सोही अनुरुप प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले लखनउबाट भैरहवाका लागि हवाई रुट अनुमति दिएको हो । नेपालबाट भैरहवा हुँदै लखनउतर्फको रुटमा जाने मात्रै अनुमति भएकामा अब उक्त रुट भएर नेपाल आउने समेत अनुमति भएको हो ।

प्रधानमन्त्रीको यस भ्रमणले नेपालको पर्यटन, व्यापार, लगानी र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उत्तिकै छ ।

सन्धि सम्झौता र सीमा विवादमा भएन पहल

नेपाल र भारतबीच भएका पुराना सन्धि–सम्झौताहरूलाई समयसापेक्ष समीक्षा गर्ने विषय लामो समयदेखि उठ्दै आएको थियो । विशेषगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई दुवै देशको बदलिँदो आवश्यकता र सार्वभौम समानताको मान्यताअनुसार पुनरावलोकन गर्ने विषयमा गम्भीर पहल आवश्यक थियो ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतका विषयमा ऐतिहासिक प्रमाण, नक्सा, दस्ताबेज र द्विपक्षीय संयन्त्रका आधारमा समाधान आवश्यक थियो । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार सन्धि सम्झौता र सीमासम्बन्धी विषयमा कुनै पनि छलफल भएको छैन ।

त्यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा लामो समयदेखि चर्चामा रहेको महाकाली पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन दुवै देशले सहमति जनाएका छन् । साथै, जलस्रोतको उपयोगमा दुवै देशले पारस्परिक लाभ, न्यायोचित बाँडफाँट र दीर्घकालीन हितलाई प्राथमिकता दिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालमा सहमति भएका भारतीय सहयोगका विकास आयोजना प्रगतिबारे छलफल भएको छ । नेपालमा सञ्चालित विकास परियोजनाहरू समयमै सम्पन्न गर्न कार्यान्वयनको समयसीमा, जिम्मेवार निकाय र नियमित अनुगमनको व्यवस्था पनि आवश्यक छ ।

मित्रता चाहिन्छ, स्वाभिमानको मूल्यमा होइन

नेपाल र भारतबीचको सम्बन्ध बिग्रनु दुवै देशका लागि हितकर हुँदैन । भारतजस्तो ठूलो छिमेकीसँग नेपालको सम्बन्ध सुमधुर हुनु हाम्रो आवश्यकता हो । तर सम्बन्ध सुमधुर बनाउने नाममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्न मिल्दैन ।
हामी भारतसँग शत्रुता चाहँदैनौँ, तर असमान व्यवहार पनि स्वीकार गर्न सक्दैनौँ । हामीलाई भारतको विरोध होइन, भारतसँग बराबरीको सम्मान र पारस्परिक विश्वासमा आधारित सम्बन्ध चाहिएको हो ।

हाम्रो देशको भूगोल सानो होला, अर्थतन्त्र ठूलो नहोला, तर हाम्रो सार्वभौमिकता र स्वाभिमानको मूल्य सानो छैन । नेपालले भारतसँग मित्रताको हात बढाउँदा आफ्नो राष्ट्रिय हितको अडान पनि उत्तिकै दृढ राख्नुपर्छ ।

हालै सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमण केवल औपचारिक भेटघाट, स्वागत, भोजभतेर र संयुक्त वक्तव्यमा मात्र सीमित नहोस् । यसले विगतका तिक्तता घटाउने, वर्तमानका समस्या समाधान गर्ने र भविष्यको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याओस् । हामीलाई ठूलो छिमेकीको दबाब होइन, असल छिमेकीको साथ चाहिएको छ । हामीलाई आश्वासन होइन, परिणाम चाहिएको छ । हामीलाई अधीनस्थ सम्बन्ध होइन, समानताको आधारमा स्थापित मित्रता चाहिएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध रोटीबेटीको आत्मीयताबाट सुरु भएको हो भने अब यसलाई समानता, सम्मान, विश्वास, आर्थिक साझेदारी र साझा समृद्धिको सम्बन्धमा रूपान्तरण गरौँ ।

जय नेपाल !

(लेखक सुवेदी (नेपाली कांगेस महासमिति सदस्य) हाल कतारमा रहेका छन् ।)