ढाका । बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबीरको घरमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ ।
शुक्रबार घटना हुँदा कबीर त्यहाँ थिएनन् ।
आक्रमणपछि उक्त घरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कबीरले यस आक्रमणका लागि अपदस्थ प्रधानमन्त्री शेख हसिनाको दल आवामी लिगलाई दोष दिएका छन् ।
यस घटनाभन्दा एक दिनअघि हसिनाको दलले बंगलादेशमा राष्ट्रव्यापी हड्ताल आह्वान गरेको थियो, सोही क्रममा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसको निवासमा पनि आगजनी गरिएको थियो ।
त्यसको एक दिनपछि कबीरको निवासमा आगजनी गरिएको हो । यस घटनालाई लिएर अवामी लिगमाथि प्रहार गर्दै उनले उक्त दललाई ‘आतंककारी संगठन’ को संज्ञा दिए ।
कबीरले यस घटनाका लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाहीको माग गरेका छन् ।
हसिनाले डिसेम्बरमा ढाका फर्कने घोषणा यसअघि नै गरिसकेकी छन् ।
उनको फिर्तीको समय नजिकिँदै गर्दा बंगलादेशमा हिंसा बढ्दै गएको हो ।
उनको दल अवामी लिगले आह्वान गरेको हड्तालका कारण बंगलादेशका विभिन्न भागमा हिंस्रक प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू भएको छ ।
बिहीबार प्रदर्शनकारीहरूले अन्तरिम सरकारका प्रमुख युनुसको निवासमा आगजनी गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले अवामी लिगमाथि देशभित्र हिंसा भड्काएको र षड्यन्त्र रचेको आरोप लगाएका छन् ।
उनले भारतप्रति पनि अप्रत्यक्ष रूपमा कटाक्ष गरेका छन् ।
एक सभालाई सम्बोधन गर्दै रहमानले १६ वर्षसम्म बलपूर्वक सत्तामा टिकिरहेपछि देश छोडेर भागेकाहरूले अहिले सीमापारिबाट बंगलादेशविरुद्ध षड्यन्त्र रचिरहेका आरोप लगाए ।
रहमानले भनेका छन्, ‘उनीहरूका मालिकहरू तिनै देशमा छन् जहाँ उनीहरू भागेर गएका छन् । तिनै मालिकहरूलाई खुसी पार्न उनीहरू बंगलादेशविरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’











प्रतिक्रिया