जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनको अन्योल कायमै छ ।
शुक्रबार बेलुकी ४ बजेसम्म नयाँ सरकार गठन गर्नका निम्ति दाबी पेश गर्ने समय रहेकोमा कुनै पनि दलले दाबी पेश गर्न सकेन ।
समय समाप्त हुनुभन्दा करिब ५ मिनेट अघि नेकपा (एमाले), नेकपा र नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका तीनै जना नेताहरुले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष दाबी पेश गर्ने समयावधि थप गर्न आग्रह गरेका थिए ।
त्यसपछि जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवसहित जसपा नेपालका अन्य सांसदहरुले पनि प्रदेश प्रमुखलाई भेट गरी संविधानको धारा अनुसार तोकिएको समयावधिभित्र कसैको दाबी पेश नभएपछि धारा १६८ को ३ अनुसार प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । सोपश्चात प्रदेश प्रमुख कर्णले सचिवसहित अन्य कार्यालयका पदाधिकारीहरुसँग २ घण्टा लामो छलफल गरेका थिए ।
२ घण्टा पछि प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आवश्यक छलफल र परामर्श गरिरहेको व्यहोरा सम्बन्धी सबैलाई जानकारी गराएको छ । योसँगै अब प्रदेश सरकार गठनबारे अर्को सूचना जारी नभएसम्मका लागि थप अन्यौल बनेको छ ।












प्रतिक्रिया