काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे बजार नजिक आज (बिहीबार) बिहान भएको सुमो दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएका सबैको पहिचान खुलेको छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट हेटौंडा हुँदै काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।
दुर्घटनामा मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुर ४ बस्ने २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना, ५० वर्षीय बमबहादुर वाइबा रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, दुर्घटनामा घाइते हुनेहरुमा गाडी चालक चन्द्रनिगाहपुर–४ बस्ने ३३ वर्षीय कालुमान लोप्चन, गाडीमा सवार चन्द्रनिगाहपुर–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाधोज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ, १९ वर्षीया वेयहान रानामगर रहेका छन् ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।













प्रतिक्रिया