३ मंसिर २०८३, बिहिबार

बेतियामा दिनदहाडै ४० करोडको सुनचाँदी लुटपाट, लुटेराले २० मिनेटसम्म मच्चाए आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय मिश्रा

रौतहट । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाको बेतियामा दिनदहाडै हतियारधारी लुटेराहरूले करोडौँ रुपैयाँ मूल्यका सुन, चाँदी तथा हिराका गरगहना लुटेका छन् । व्यस्त बजार क्षेत्रको सुप्रिया रोडस्थित ‘सेनको गोल्ड एन्ड डायमन्ड्स’ शोरुममा बुधबार दिउँसो भएको लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरीले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ ।

प्रहरीका अनुसार दिउँसो करिब १२ः३० बजे तीनवटा मोटरसाइकलमा आएका आठ जना हतियारधारी व्यक्ति शोरुमभित्र प्रवेश गरेका थिए ।

ग्राहक बनेर आएका उनीहरूले केही समयमै हतियार देखाउँदै कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर लुटपाट सुरु गरेका थिए ।

करिब २० मिनेटसम्म शोरुमभित्र आतंक मच्चाएका लुटेराहरूले काउन्टरमा राखिएका बहुमूल्य गरगहना झोलामा भरेर फरार भएका थिए ।

उनीहरूले दुई जना ग्राहकका मोबाइल फोन फुटाउनुका साथै सीसीटीभी क्यामेरामा समेत क्षति पुर्‍याएका थिए ।

लुटपाटको प्रतिकार गर्ने क्रममा एक सुरक्षा गार्ड घाइते भएका छन् । प्रहरीका अनुसार उनको शरीरमा गोली लागेको छैन । लुटेरासँग भएको हातपातका क्रममा उनलाई चोट लागेको हो ।

शोरुम सञ्चालक ब्रजेश कुशवाहाले करिब ३५ करोड भारतीय रुपैयाँ बराबरका गरगहना लुटिएको दाबी गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुमानमा लुटिएका गरगहनाको मूल्य ३० देखि ४० करोड भारतीय रुपैयाँसम्म हुनसक्ने बताइएको छ । यद्यपि, शोरुम व्यवस्थापनले स्टक मिलान गरिरहेकाले वास्तविक क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

घटनापछि चम्पारण रेन्जका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरकिशोर राय, प्रहरी अधीक्षक कुमार गौतम, बेतिया सदर एसडीपीओ–१ अजित कुमारलगायतका उच्च प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले एसआईटी गठन गरेर अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा फरेन्सिक विशेषज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी प्रमाण संकलन गरिएको छ । शोरुम तथा आसपासका क्षेत्रका सीसीटीभी फुटेज जाँच गर्नुका साथै जिल्लाभर सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजीका लागि विभिन्न स्थानमा छापा मारिरहेको छ भने सडक तथा सम्भावित नाकाहरूमा सवारीसाधन जाँचसमेत तीव्र बनाएको छ ।

यसैबीच, बेतिया विधानसभा क्षेत्रकी विधायक तथा बिहारकी पूर्वउपमुख्यमन्त्री रेणु देवीले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताएकी छन् ।

व्यस्त बजार र प्रहरीको पहुँच क्षेत्रभित्रै भएको यस घटनाले बेतियाका व्यवसायी तथा स्थानीय बासिन्दामा सुरक्षा चिन्ता बढाएको छ । दिनदहाडै आठ जना हतियारधारीले शोरुममा प्रवेश गरी करोडौँका गरगहना लुटेर फरार हुनुले स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान, लुटिएका गरगहनाको बरामदगी र उनीहरूलाई पक्राउ गर्नु अहिले प्रहरीका लागि प्रमुख चुनौती बनेको छ ।