काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको दुवै भाग छिचोलिएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको दायाँतर्फको ट्युब ब्रेकथ्रु भएसँगै यसको सुरुङ खन्ने काम सम्पन्न भएको हो।
नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी भएका थिए। सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ३ हजार ४५५ मिटर लामो महादेवटार सुरुङको दायाँ ट्युब छिचोलिएको हो। यसअघि गत भदौमा यसको बायाँ ट्युब ब्रेकथ्रु भएको थियो।
द्रुतमार्गमा कुल ११।२ किलोमिटर लम्बाइका सातवटा सुरुङ निर्माण भइरहेका छन्। महादेवटारसँगै १ हजार ६९१ मिटर लामो धेद्रे र १ हजार ६२३ मिटरको लेनडाँडा सुरुङ पनि ब्रेकथ्रु भइसकेका छन्।
अब चन्द्रामभीर, देवीचौर, सिसौटार र मौरीभीर सुरुङ छिचोल्न बाँकी छन्। यीमध्ये चन्द्रामभीर सुरुङ २ हजार २३७ मिटर, देवीचौर १ हजार मिटर, सिसौटार ३९० मिटर र मौरीभीर ५८३ मिटर लामो छ। मौरीभीर सुरुङको भने अझै ठेक्का लाग्न बाँकी रहेको छ।
सरकारले २०७४ वैशाख २१ गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो। तर निर्धारित समयमा काम पूरा हुन नसकेपछि आयोजनाको म्याद पटकपटक थपिएको छ।
नेपाली सेनाका अनुसार २०८३ भदौ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत पुगेको छ। पछिल्लो समयसीमाअनुसार २०८३ चैतसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि उक्त अवधिमा काम नसकिने देखिएपछि गत साउन २० गतेको मन्त्रिपरिषद् बैठकले म्याद थप तीन वर्ष बढाएर २०८६ चैतसम्म पुर्याएको थियो।
महादेवटार सुरुङको ब्रेकथ्रु द्रुतमार्ग निर्माणको महत्त्वपूर्ण उपलब्धि भए पनि बाँकी सुरुङ, सडक र अन्य संरचनाको काम सम्पन्न भएपछि मात्रै आयोजना सञ्चालनमा आउनेछ।












प्रतिक्रिया