काठमाडौं । काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले नौ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो।
चितवनको जितमा रिजन ढकालले चार ओभरमा १६ रन खर्चेर चार विकेट लिए। उसामा मिरले तीन विकेट झारे। यससँगै रिजन जारी प्रतियोगितामा १६ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले चार विकेटको क्षतिमा २०४ रन बनाएको थियो। उसका ओपनर कमिल मिशाराले १२० रनको शतकीय इनिङ खेले। कप्तान रवि बोपाराले ५३ रन बनाए। यी दुईबीच तेस्रो विकेटका लागि १५४ रनको साझेदारी भएको थियो।
मिशाराको शतकसँगै उनले एनपीएल इतिहासकै एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमानसमेत कायम गरेका छन्।
अब चितवनले दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको हो।












प्रतिक्रिया