काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि यसअघि प्रस्तावित मन्त्रीहरूको सूची छोट्याइएको छ। पछिल्लो तयारीअनुसार प्रधानमन्त्रीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्रै भारत जाने भएका छन्।
सरकारी स्रोतका अनुसार भ्रमण टोलीमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई पनि समावेश गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो। तर अन्तिम तयारीमा उनीहरूलाई टोलीमा नराख्ने निर्णय भएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री शाह नोभेम्बर २२ मा भारत जाने र भोलिपल्ट नोभेम्बर २३ मा स्वदेश फर्किने कार्यक्रम छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुने तयारी छ।
भ्रमणको मुख्य एजेन्डामध्ये हवाई सम्पर्क विस्तार, ऊर्जा सहकार्य र पूर्वाधार विकासका विषय छन्। विशेषगरी पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज बनाउन नेपालले भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ। महेन्द्रनगर र भैरहवा क्षेत्रबाट हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषय पनि दुई देशबीचको छलफलमा रहेको छ।
यसअघि यी विषयमा सम्भावित समझदारी हुन सक्ने भन्दै सम्बन्धित मन्त्रालयका मन्त्रीलाई समेत भ्रमण टोलीमा सहभागी गराउनेबारे छलफल भएको थियो। तर पर्यटन, ऊर्जा र पूर्वाधार मन्त्रालयका मन्त्रीहरू सहभागी नहुने भएपछि ती क्षेत्रसँग सम्बन्धित विषयमा भ्रमणकै क्रममा ठोस सम्झौता हुने सम्भावना कम रहेको सरकारी स्रोतको आकलन छ।
नेपाल र भारतबीच ऊर्जा, व्यापार, पारवहन तथा भौतिक पूर्वाधारका विषयमा पनि छलफल भइरहेको छ। भ्रमणका क्रममा केही विकास आयोजना अघि बढाउने, सहयोगसम्बन्धी समझदारी गर्ने तथा दुई देशबीचको आर्थिक सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
यद्यपि भ्रमणमा सहभागी हुने मन्त्रीहरूको अन्तिम सूची र हस्ताक्षर हुने सम्भावित सम्झौताबारे सरकारले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।












प्रतिक्रिया