रौतहट । नेपाल–भारत सीमा हुँदै लागुऔषध तस्करीको प्रयास भइरहेको अवस्थामा बाराका एक नेपाली युवक भारतमा पक्राउ परेका छन् ।
भारतीय सुरक्षा निकायले ७६.६६ ग्राम ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बारा जिल्लाको देवताल गाउँपालिका–फुलवरिया निवासी २४ वर्षीय मनोहर सिंह रहेका छन् ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी)को ७१ औं बटालियनअन्तर्गत बीओपी बेल्दरवामठको टोलीले बिहार प्रहरी र आदापुरका प्रखण्ड विकास पदाधिकारी (बीडीओ)सँगको समन्वयमा सञ्चालन गरेको संयुक्त गस्तीका क्रममा उनलाई पक्राउ गरेको हो ।
एसएसबी मुख्यालय पिपराकोठीका अनुसार मंगलबार प्राप्त विशेष सूचनाका आधारमा भारतको बिहार राज्यस्थित आदापुर थाना क्षेत्रको श्यामपुर गाउँनजिक सुरक्षा टोलीले निगरानी तथा चेकजाँच कडा पारेको थियो । सो क्रममा नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८३/६ बाट करिब साढे चार किलोमिटर भारतीय भूमिभित्र युवकलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो ।
जाँचका क्रममा उनको साथबाट प्लास्टिकको बोरामा राखिएको ७६.६६ ग्राम ब्राउन सुगर बरामद भएको थियो । प्रहरीले घटनास्थलबाट बीआर ०५ बीडी २९६७ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद लागुऔषध भारतको रामगढवाबाट नेपालको फुलवरियातर्फ लैजाने क्रममा रहेको आशंका गरिएको छ ।
सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत संयुक्त सुरक्षा टोलीले गरेको कारबाहीपछि पक्राउ परेका युवकलाई बरामद पदार्थ र मोटरसाइकलसहित आवश्यक कानुनी अनुसन्धान तथा कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी भइरहे पनि नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै लागुऔषध ओसारपसारका प्रयास जारी रहेको यस घटनाले देखाएको छ ।












प्रतिक्रिया