काठमाडौं । काठमाडौंका दरबारमार्ग र ठमेल क्षेत्रमा व्यवसाय तथा गतिविधि चौबिसै घण्टा सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यी दुई क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय भएको जानकारी दिएको हो ।
मंगलबार जारी सूचनामा प्रशासनले दरबारमार्ग र ठमेलमा चौबिसै घण्टा व्यवसाय सञ्चालनको व्यवस्था कार्यान्वयनमा रहेको जनाएको छ। अन्य क्षेत्रलाई पनि रातभर खुला गर्ने विषयमा भने आवश्यक तयारी र समन्वय भइरहेको उल्लेख छ।
प्रशासनका अनुसार काठमाडौं जिल्लालाई सुरक्षित र व्यवस्थित रूपमा चौबिसै घण्टा सञ्चालनयोग्य बनाउन सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्ती जस्ता आधारभूत पूर्वाधारको व्यवस्था आवश्यक छ। यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
त्यस्तै, जिल्लाका अन्य बजार तथा व्यापारिक क्षेत्रलाई पनि २४सै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न सरकारी कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग छलफल तथा समन्वयात्मक बैठक गर्ने तयारी गरिएको छ।
सबै क्षेत्रका लागि आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थाको सुनिश्चितता भएपछि मात्रै जिल्लाभर चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्नेबारे निर्णय लिइने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।
त्यतिन्जेल दरबारमार्ग र ठमेलबाहेकका क्षेत्रका व्यवसायीले अर्को सूचना जारी नभएसम्म यसअघि तोकिएको समयअनुसार नै व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ।













प्रतिक्रिया