१ मंसिर २०८३, मंगलबार

मानव बेचबिखनका आरोपितलाई विदेशमा भए पनि कानुनी दायरामा ल्याउने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ ल्याएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले स्वदेश वा विदेशमा कसूरको आरोप लागेका व्यक्तिलाई कानूनको दायरामा ल्याउने, र दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ उक्त विधेयक ल्याएको बताए ।

उनले उच्च जोखिममा रहेका तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने गरि विधेयकको मस्यौदा तयार पारिएको बताएका हुन् । मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणको लागि अन्तर्राष्ट्रिय सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल र सम्भावित स्थलमा निगरानीको व्यवस्था गर्ने प्रस्ताव समते गरिएको उनको भनाइ छ ।

सचिव राउतले जबर्जस्ती श्रममा लगाउने कार्यलाई कसुर कायम गर्ने, बालबालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्यलाई पनि ओसारपसारको कसुरको रूपमा कायम गर्नुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । विदेशी पीडित नागरिकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यममार्फत समन्वय गरेर फिर्ता पठाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले संगठित अपराधसँग सम्बन्धित ऐन र वैदेशिक रोजगारसँग सम्बन्धित ऐनहरूसँग विरोधाभास नआउने गरी मानव बेचबिखन तथा ओसारपसार हुने सम्मका विषयहरूलाई समायोजन गरी संशोधन प्रस्तावलाई अझ परिष्कृत गर्नुपर्ने बताए । समिति सदस्यहरुले साइबर हिंसा, अपराध र बालबालिकामाथि हुने यौन हिंसा तथा श्रम शोषण रोकथामलाई रोक्न कडा रुपमा कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।