काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेबापत नगद पुरस्कार दिने घोषणा गरेर रास्वपा सांसद पारसमणि गेलाल चर्चामा आएका छन्।
गेलालको सचिवालयले फेसबुकमार्फत सूचना जारी गर्दै आगामी फागुन १२ गते विशेष फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्ने जनाएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा बालेन, रवि, सांसद गेलाल र सांसद सूर्य लामासँगै रहेका क्षणहरू क्यामेरा वा मोबाइलमा कैद गरेका व्यक्तिलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जनालाई विजेता छनोट गरी नगद पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ। यद्यपि, पुरस्कारको रकम भने खुलाइएको छैन। त्यसबारे छिट्टै भिडियो सन्देशमार्फत जानकारी गराइने सचिवालयले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन निर्वाचनका क्रममा खिचिएका फोटो वा भिडियो पठाउनुपर्नेछ। त्यस्ता सामग्री आफ्नै सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुपर्ने र सिर्जनात्मकता प्रस्तुत गर्नुपर्ने सर्त राखिएको छ। सचिवालयले यसलाई तस्बिर तथा भिडियोमार्फत प्रतिभा देखाउने र पुरस्कार जित्ने अवसरका रूपमा प्रस्तुत गरेको छ।
गेलाल उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद हुन् भने सूर्य लामा उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
तर, नेताहरूसँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई पुरस्कार दिने घोषणाले सामाजिक सञ्जालमा भने आलोचना र व्यङ्ग्य निम्त्याएको छ। कतिपयले यसलाई सांसदको व्यक्तिगत प्रचार गर्ने शैली भन्दै टिप्पणी गरेका छन् भने केहीले चर्चामा आउन गरिएको हास्यास्पद प्रयासका रूपमा व्याख्या गरेका छन्।
यसअघि पनि ‘मेयरलाई सरुवा गर्नुपर्छ’ भन्ने विषयको फोन संवाद सार्वजनिक भएपछि गेलाल सामाजिक सञ्जालमा चर्चामा आएका थिए।












प्रतिक्रिया