२६ कार्तिक २०८३, बिहिबार

टोपबहादुर रायमाझीलाई घरमा फूलमालाले स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी उमेरका आधारमा पाएको कैद छुट सुविधापछि जेलमुक्त भएका छन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। कारागारबाट बाहिरिएपछि सातदोबाटोस्थित घर पुगेका रायमाझीलाई परिवार तथा आफन्तले फूलमाला लगाएर स्वागत गरेका छन्।

काठमाडौं जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ। रायमाझीले ज्येष्ठ नागरिकका रूपमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका रायमाझीलाई अदालतले विभिन्न कसुरमा कैद र जरिवानाको सजाय सुनाएको थियो।