काठमाडौं, ७ भदौ । यो सिजनको स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले विजयी सुरुआत गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि १-० को कठिन जित हात पारेको हो । बार्सिलोनाका लागि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वरेजले गोल गरे । खेलमा थप गोल हुन नसकेपछि बार्सिलोना १-० ले विजयी भयो ।
तर, यसअघि बार्सिलोनाले पाएको पेनाल्टीमा फुटबल स्टार लिओनल मेस्सी गोल गर्नबाट चुकेका छन् । बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, मेस्सीको प्रहार गोलरक्षकले रोके । अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो करियरमा १४ औं पटक पेनाल्टी मिस गरेका हुन् ।
सुपर कपमा समग्रमा ५-१ को हार व्यहोरेको बार्सिलोनाले बिल्बाओसँग बदला लिएको छ । आइतबार राति नै भएको अर्काे खेलमा उपाधि दाबेदार मानिएको रियल मड्रिड भने नवप्रवेशी टिमसँग गोलरहित बराबरीमा रोकिएको छ ।
यो सिजनको ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोना र रियल मड्रिडलाई दाबेदारका रुपमा हेरिएको छ ।















प्रतिक्रिया