कालीकोट । कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगविहीन बनेको छ । तीन वर्ष अघि करौडौं लगानी निर्माणमा भएको अहिले भ्यूटावर प्रयोगविहीन बनेको हो ।
युद्ध पर्यकटीय क्षेत्रलाई पिलीमा पर्यटकलाई आक्रर्षण गर्नका लागि भ्यूटावरको निर्माण गरिएको थियो ।
भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगविहीन तथा अलपत्र परेको छ ।
कर्णाली राजमार्गको छेउमा रहेको पिली डाँडामा अग्लो र गोलाकार भवन बनेको छ । ६ करोड बढी लागतमा निर्माण गरिएको भ्यूटावर संरक्षण नहुँदा अहिले अलपत्र अवस्थामा रहेको छ ।

पर्यटकीय क्षेत्रमा निर्माण गरिएको भ्यूटावरका स्टिलका बार, सिसा चोरी हुन थालेका छन् ।
तत्कालीन माओवादी र शाही सेनाबीच भएको युद्धको सम्झनामा निर्माण गरिएको भ्यूटावरसहितको युद्ध पर्पटकीय क्षेत्र अहिले संरक्षण नहुँदा अलपत्र अवस्थामा पुगेको खाँडाचक्र नगरपालिका–७ का स्थानीय रनबहादुर कार्कीले बताए ।
‘युद्ध संग्रहालयको अवधारणामा निर्मित यो भ्यूटावरमा एउटा गेट, तीनवटा प्रतीक्षालय, दुईवटा चौतारा, फाउन्टेनसहितको एउटा पानीपोखरी, एउटा टिकट काउन्टर र शौचालयजस्ता कंक्रिट संरचना छन्,’ उनले भने, ‘अहिले यी सबै संरचनाहरुको कुनै निकाय संरक्षण नगर्दा जीर्ण अवस्थामा पुगेका छन्, भने बनेका संरचनाका स्टीलबार लगायतका सामान चोरी हुन थालेका छन् ।’

पिलीलाई नमुना बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न २०७९ सालमा डिभिजन वन कार्यालय कालीकोटले आठ करोड ८९ लाख ९१ हजार रुपैयाँमा ठेक्का आह्वान गरेकोमा कुशेश्वर कन्स्ट्रक्सन प्रालिले छ करोड ८९ लाख ९९ हजार लागतमा दुई वर्षअघि भ्यूटावर निर्माण गरेको थियो ।
पिलीको अग्लो डाँडामा २० मिटर अग्लो भ्यूटावर, पौडी पोखरी, त्यहाँसम्म पुग्नका लागि स्टीलबारको निर्माण गरिएको थियो । डिभिजन वन कार्यालय कालीकोटमार्फत युद्ध संग्रहालय, स्टीलबारसहित करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्यूटावर, टिकट काउन्टर, बुट्यानसहितका दुईवटा चौतारा, शौचालय र गेट निर्माण गरिएको छ ।

निर्माण गर्ने सरकारी कार्यालयले स्थानीय तहको जिम्मा नलगाएकाले संरचना भत्किँदै गएको खाँडाचक्र–७ का वडाध्यक्ष दीपकराज कार्कीले बताए । उनले यो संरचनाको संरचना कसको जिम्मा हो भन्ने एकिन नहुँदा अहिले अलपत्र अवस्थामा पुगेको बताए ।
भ्यूटावरको निर्माण काम सकिए पनि यसको हस्न्तारणका विषयमा अहिलेसम्म कुनै पनि काम नभएको डिभिजन वन कार्यालय प्रमुख अमर साहले बताए । उनले अबका दिन आवश्यक प्रक्रिया पूरा गरेर कसले संरक्षण गर्ने भन्ने विषयमा जिम्मेवारी टुंगो लगाउने बताए ।












प्रतिक्रिया