काठमाडौं । अब्दुल अल–सयद अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेर इतिहास रचेका छन् ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार उनले रिपब्लिकन पार्टीका माइक रोजर्सलाई पराजित गर्दै मिसिगनको सिनेट चुनाव जितेका हुन् ।
डेट्रोइटमा आफ्नो विजय मन्तव्य राख्दै इजिप्टबाट आप्रवासी भई आएका परिवारका छोरा सयदले भने, “मिसिगन, हामीले यो गरेर देखायौँ ! मिसिगनजस्तो महान् राज्यबाट तपाईँहरूको निर्वाचित सिनेटरका रूपमा यहाँ उभिन पाउँदा मलाई धेरै गर्व र सम्मान महसुस भइरहेको छ ।”
को हुन् अब्दुल अल-सयद ?
अब्दुल एल–सयदको जन्म र हुर्काइ दक्षिण-पूर्वी मिसिगनमा भएको हो । उनका बुबा मोहम्मद इजिप्टबाट आएका आप्रवासी हुन्, जबकि उनकी सौतेनी आमा ज्याकी पुस्ताौंदेखि मिसिगनमा बस्दै आएको परिवारकी हुन् । उनले सार्वजनिक विद्यालयहरूमा शिक्षा हासिल गरे र पछि युनिभर्सिटी अफ मिसिगनबाट उत्कृष्ट नतिजासहित स्नातक गरे ।
विद्यालय पढ्ने क्रममा उनी खेलकुदमा पनि उत्तिकै रुचि राख्थे र फुटबल, कुस्ती तथा ल्याक्रोस टोलीको कप्तानसमेत बनेका थिए । त्यसपछि, ‘नेशनल इन्स्टिच्युट्स अफ हेल्थ’को फेलोसिप सहयोगमा उनले कोलम्बिया विश्वविद्यालयमा चिकित्साशास्त्र (मेडिसिन)को अध्ययन गरे । साथै, उनी ‘रोड्स स्कलर’का रूपमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि (डक्टरेट) उपाधि हासिल गर्न सफल भए ।
डाक्टर बन्ने प्रशिक्षण लिएका भए पनि पछि उनले सार्वजनिक सेवामा काम गर्ने निर्णय गरे । डेट्रोइट सहर आर्थिक रूपमा टाट पल्टिएपछि उनले त्यहाँको स्वास्थ्य विभागलाई पुनः व्यवस्थित गर्ने काम गरे । पछि उनले वेन काउन्टीको स्वास्थ्य, मानव तथा भेट्रान सेवा विभागको पुनर्संरचना गर्ने जिम्मेवारी सम्हाले ।
उनले धेरै सार्वजनिक स्वास्थ्य परियोजनाहरूमा काम गरे, जसमा बालबालिकालाई निस्शुल्क चश्मा प्रदान गर्ने, प्राथमिक विद्यालयहरूबाट सिसा हटाउने र ओपिओइड ओभरडोजलाई कम गर्न प्रयोग गरिने औषधि ‘नार्कन’ सजिलै उपलब्ध गराउने कार्यहरू समावेश छन् ।
एल–सयदले दुई वर्षमा मिसिगनका लगभग ३,००,००० मानिसहरूको लागि ७० करोड डलरसम्मको चिकित्सा ऋण रद्द गर्ने लक्ष्य राखेको कार्यक्रमको नेतृत्व गरे । उनको कामको कदर गर्दै उनलाई मिसिगन लिग अफ कन्जर्भेसन भोटर्सबाट ‘वर्षको सार्वजनिक अधिकारी’ पुरस्कार प्रदान गरियो । उनी क्रेनको डेट्रोइट व्यवसायको ‘४० अन्डर ४०’ सूचीमा समेत परेका थिए ।
उनले ‘मेडिकेयर फर अल: अ सिटिजन्स गाइड’ शीर्षकको एउटा पुस्तक लेखेका छन् । यस पुस्तकमा अमेरिकाले आफ्ना सबै नागरिकलाई कसरी किफायती स्वास्थ्य सेवा उपलब्ध गराउन सक्छ भन्नेबारे व्याख्या गरिएको छ ।
सन् २०२० मा, एल-सयदलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य सेवासम्बन्धी ‘युनिटी टास्क फोर्स’का लागि समेत छनोट गरिएको थियो ।












प्रतिक्रिया