१८ कार्तिक २०८३, बुधबार

बीमा प्राधिकरणको अध्यक्षमा थापा, निक्षेप कोषमा भण्डारी र नेप्सेमा सुवेदी नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले तीन महत्त्वपूर्ण वित्तीय संस्थाको नेतृत्व परिवर्तन गर्दै नेपाल बीमा प्राधिकरण, निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ प्रमुख नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा, निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पिताम्बर भण्डारी र नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयले गठन गरेका छुट्टाछुट्टै छनोट समितिको सिफारिसका आधारमा सरकारले उनीहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट नियुक्तिको निर्णय भए पनि तीनै जनाको नाम सार्वजनिक गरिएको थिएन।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सोही कार्यक्रममा भण्डारी र सुवेदीलाई नियुक्तिपत्रसमेत हस्तान्तरण गरिएको छ।

नवनियुक्त नेप्सेका सीईओ सुवेदी यसअघि कृषि विकास बैंकमा उपमहाप्रबन्धकका रूपमा कार्यरत थिए। बैंकिङ क्षेत्रको अनुभवसहित उनी अब नेपालको पुँजीबजार सञ्चालन गर्ने प्रमुख संस्थाको नेतृत्वमा पुगेका छन्।

सरकारको पछिल्लो निर्णयसँगै बीमा नियमन, निक्षेप सुरक्षण तथा धितोपत्र बजार सञ्चालन गर्ने तीनवटै संस्थाले नयाँ नेतृत्व पाएका छन्।