काठमाडौं । अभिनेता हरिवंश आचार्यसहितका कलाकारको अभिनय रहेको चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शनमा आउनुअघि नै विवादमा परेको छ। चलचित्रलाई प्रदर्शन नगर्न गृह मन्त्रालयले निर्देशन दिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रका निर्देशक वसन्त निरौलाका अनुसार गृह सचिवले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई फोनमार्फत फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन्। सञ्चार मन्त्रालयबाट समेत निर्माण पक्षलाई सम्पर्क गरी प्रदर्शन रोक्ने निर्णयसहितको पत्र तयार भइरहेको जानकारी गराइएको उनले बताएका छन्।
निरौलाले मन्त्रालयले पत्र लिन बोलाएको र त्यसका लागि आफूहरू जाने तयारीमा रहेको जानकारी दिए। उनका अनुसार चलचित्रको अग्रिम टिकट बुकिङसमेत बन्द गर्न निर्देशन दिइएको छ।
यसअघि चलचित्र जाँच समितिले बुधबार बिहानै ‘पाँच पाण्डव’लाई प्रदर्शन अनुमति दिँदै युनिभर्सल सर्टिफिकेट प्रदान गरेको थियो। तर हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले चलचित्रमा महाभारतका पात्र पाँच पाण्डव र द्रौपदीलाई अनुचित ढंगले प्रस्तुत गरिएको भन्दै विरोध जनाएका थिए।
ती संस्थाहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै चलचित्रको प्रदर्शन रोक्न माग गरेका थिए। सोही विवादका बीच गृह मन्त्रालयबाट प्रदर्शन रोक्ने निर्देशन आएको निर्माण पक्षको भनाइ छ।
चलचित्र आगामी २० गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको थियो। निर्माण पक्षले अग्रिम बुकिङसमेत खुला गरिसकेको अवस्थामा आएको निर्देशनपछि प्रदर्शन अन्योलमा परेको छ।
चलचित्रको सार्वजनिक फर्स्टलुक पोस्टरमा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन्। इभा गिरीले द्रौपदीको चरित्र निर्वाह गरेको बताइएको छ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। श्याम तामाङले छायांकन गरेको चलचित्रको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।












प्रतिक्रिया