रौतहट । भारतबाट मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याइएको ३० लाख रुपैयाँसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले सुरुमा ३० लाख रुपैयाँ फेला पारेको थियो। त्यसपछि गरिएको थप अनुसन्धानका क्रममा गौर बजारस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक प्रहरी चौकी मठियाबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गरेको थियो। सो क्रममा मोटरसाइकलमा बनाइएको गोप्य स्थानमा लुकाएर राखिएको नगद र एउटा स्मार्टफोन फेला परेको प्रहरीले जनाएको छ।
उक्त रकमसहित पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्ला, फुलबरिया–१३ का ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन्। प्रहरीको प्रारम्भिक सोधपुछमा उनले उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको बताएका थिए।
जैसवालको बयानका आधारमा प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको टोलीले न्यु तराई ट्रेडर्समा छापा मारेको थियो। पसलमा गरिएको खानतलासीका क्रममा थप नगद बरामद भएपछि सञ्चालक ५१ वर्षीय शेख कमरुललाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा राखेर बरामद भएको रकमको स्रोत, यसको कारोबार र रकम नेपाल भित्र्याउनुको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ। बरामद रकमको वैधानिक स्रोत खुल्न नसकेको प्रहरीको भनाइ छ।












प्रतिक्रिया