३० आश्विन २०८३, शुक्रबार

नेपाली खेलाडीद्वय काजल र अस्मितालाई स्वर्ण पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

padakकाठमाडौँ, ६ भदौ । ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप’मा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण पदक जितेका छन् ।

मलेसियाको सारावाकस्थित कुचिङमा आज सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनिको सेमिफाइनलमा काजलले ब्रुनाइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

त्यस्तै, सोही स्पर्धाको ४९ किलो तौलमुनिको सेमिफाइनलमा अस्मिताले थाइल्यान्डकी पिलाडस्पोर्नीलाई १५–५ तथा फाइनलमा हङकङकी कोङ विङ येनलाई १३–१ ले पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् ।

जुनियर पुरुषको ६३ किलो तौलमुनि सुबोध खड्काले रजत जिते । क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई पाखा लगाएका सुबोध फाइनलमा थाइल्यान्डका खेलाडीसँग पराजित भए । सोही स्पर्धाको ६३ किलो तौलमाथि विकेश विडारी क्वाटरफाइनलमा ब्रुनाइका खेलाडीसँग पराजित हुँदै पदकविहीन बने ।

‘पेयर पुम्से’मा पनि भाग लिएका अस्मिता र सुबोधले कुल १० अङ्कमा ६.४३ अङ्क हासिल गर्दै कास्य जितेका छन् । सिनियर महिलातर्फ अस्मिता उत्कृष्ट खेलाडीसमेत घोषित भइन् । कुल २५ निर्णायकमध्ये तीन उत्कृष्ट घोषित गरिएकामा नेपालका नोर्बु लामा पनि एकमा परेको राखेपले जनाएको छ । रासस