१७ कार्तिक २०८३, मंगलबार

प्रहरीले सरकारको अनुमति लिएर पत्रकार पक्राउ गरेको होइन : प्रवक्ता पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार पक्राउमा सरकारको कुनै संलग्नता नरहेको बताएका छन् ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले यसबारेमा सरकारसँग कुनै अनुमति प्रहरीले नलिएको बताएका हुन् । प्रहरीले पत्रकार पक्राउ गरेको जानकारी पाएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल रिहा गर्न आदेश दिएका उनको भनाइ छ ।

‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन । प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ उनले भने ।

प्रहरीले महानिरीक्षकको राजीनामा बारे फैलिएका भ्रामक समाचारका बारेमा सोधपुछ गर्न पत्रकारलाई नियन्त्रणमा लिएर र त्यो प्रहरीको आन्तरिक कुरा भएको उनले बताए । आन्तरिक सूचना चुहावटमा प्रहरीले आन्तरिक छानबिन गरेको प्रवक्ता पोखरेलले बताए ।

‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनि उदाहरणका लागि प्रधानमन्त्री आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’ प्रवक्ता पोखरेलले भने ।