१३ कार्तिक २०८३, शुक्रबार

पत्रकारमाथिको धरपकड तत्काल रोक्न र पक्राउ परेकालाई रिहा गर्न एमालेको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेले पत्रकारमाथि भइरहेको धरपकडलाई अलोकतान्त्रिक र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा सञ्चारमाध्यममा छापा मार्ने, सञ्चारकर्मीलाई पक्राउ गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने सरकारी गतिविधिको निन्दा गरिएको छ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै एमालेले स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथिको प्रहार भएको जनाएको छ। राज्यका निकायले कानुनको शासन र लोकतान्त्रिक मान्यताभित्र रहेर काम गर्नुपर्नेमा सरकारले नै कानुनी प्रक्रिया मिच्दै दमनकारी व्यवहार देखाएको एमालेको आरोप छ।

वक्तव्यमा कानुन कार्यान्वयनका नाममा कानुन उल्लंघन, सुशासनका नाममा दमन र लोकतन्त्रका नाममा निरंकुशता स्वीकार्य नहुने उल्लेख छ। सञ्चारमाध्यममाथि हुने गैरकानुनी हस्तक्षेप र पत्रकारमाथिको धरपकड तत्काल रोक्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न पनि एमालेले आग्रह गरेको छ।

सरकारको कदमलाई अलोकतान्त्रिक, दमनकारी र निरंकुश भन्दै एमालेले पक्राउ परेका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ।