काठमाडौं । सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने घटनाप्रति नेकपा (एमाले) ले कडा आपत्ति जनाएको छ। पार्टीले सरकारको यस्तो गतिविधि लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताविरुद्ध रहेको टिप्पणी गर्दै पक्राउ परेका सञ्चारकर्मीलाई विनासर्त रिहा गर्न माग गरेको हो।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा सञ्चारगृहमा छापा मार्ने, पत्रकारलाई पक्राउ गर्ने र त्रासको वातावरण बनाउने कार्यलाई फासिवादी प्रवृत्तिको संज्ञा दिएका छन्।
स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भएको उल्लेख गर्दै एमालेले सञ्चारमाध्यममाथिको हस्तक्षेपले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारसमेत प्रभावित हुने जनाएको छ। राज्यका निकायले कानुनी शासनको पालना गर्नुपर्नेमा सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत व्यवहार देखाउनु चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
कानुन कार्यान्वयनको नाममा कानुन उल्लंघन, सुशासनको बहानामा दमन र लोकतन्त्रको आडमा निरंकुशता स्वीकार्य नहुने एमालेको भनाइ छ।
पार्टीले सञ्चारमाध्यममाथि हुने गैरकानुनी हस्तक्षेप र पत्रकारमाथिको धरपकड तत्काल रोक्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। साथै, पक्राउ परेका सञ्चारकर्मीलाई कुनै सर्त नराखी रिहा गर्न माग गर्दै सरकारको कदमको निन्दा गरेको छ।












प्रतिक्रिया