काठमाडौं । अनलाइन समाचार पोर्टल ‘नेपाल प्रेस’को कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुवेदी समाचार कक्षमा कार्यरत रहेका बेला सादा पोसाकमा आएका प्रहरीहरू कार्यालयभित्रै प्रवेश गरी उनलाई नियन्त्रणमा लिएका हुन् ।
प्रहरीको भ्यानमा आएका उनीहरूले गेटमा रहेका सुरक्षागार्डलाई ‘साथी भेट्न आएको’ बताएर भित्र प्रवेश गरेका थिए ।
नेपाल प्रेसका अनुसार प्रहरीले पक्राउ पुर्जी बिना नै सुवेदीलाई लगेका हुन् । उनीहरूले आफूहरू अपराध अनुसन्धानबाट आएको र ‘आईजी साब’को आदेश रहेको बताएका थिए ।
पत्रकार सुवेदीले छलफलका लागि आफै मोटरसाइकलमा जाने बताए पनि प्रहरीले मानेन र उनलाई जबरजस्ती प्रहरी गाडीमा राखेर लगेको प्रत्यक्षदर्शी पत्रकारले बताएका छन् ।
पक्राउ परेका सुवेदीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको फोन उठेको छैन भने प्रहरीले यस विषयमा आधिकारिक रूपमा केही खुलाएको छैन । यद्यपि, प्रहरी स्रोतले दिएको जानकारी अनुसार साइबर ब्युरोको आग्रहमा उपत्यका अपराध अनुसन्धान कार्यालय (महाशाखा)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुवेदीलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाउने बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।












प्रतिक्रिया