१३ कार्तिक २०८३, शुक्रबार

चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अशोक थापामगरको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रबार ललितपुरको पुल्चोकस्थित क्यूएफएक्स लाबिम मलमा आयोजित विशेष समारोहबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकार, निर्देशक तथा निर्माण टोलीको उपस्थिति थियो ।

कार्यक्रममा अभिनेत्री उपासना सिंह ठकुरीले ‘जलाकी’ आफ्नो लागि विशेष चलचित्र भएको बताइन् । निर्देशक थापामगरसँग ‘खुस्मा’पछि दोस्रोपटक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले आफूलाई विश्वास गरेर चलचित्रमा अवसर दिएकोमा निर्देशकप्रति आभार व्यक्त गरिन् ।

उनले भनिन्, ‘जलाकी’ मेरा लागि निकै विशेष चलचित्र हो । निर्देशक अशोक थापामगरसँग ‘खुस्मा’पछि पुनः सहकार्य गर्न पाउँदा खुसी छु । मलाई विश्वास गरेर चलचित्रमा अवसर दिनुभएकोमा अशोक दाइप्रति सधैँ आभारी छु । चलचित्रका सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीले निकै राम्रो काम गर्नुभएको छ ।’

उनले चलचित्रमा सोनम तोप्देनलगायत सबै कलाकारले उत्कृष्ट अभिनय गरेको बताइन् । साथै, चलचित्रमा आफ्नो बुवा–आमाको भूमिका निर्वाह गरेका कलाकारसँग लामो समयपछि पुनः काम गर्न पाउँदा पुराना सम्झनाहरू ताजा भएको उनको भनाइ थियो । उनले चलचित्रको प्राविधिक टोलीसहित सम्पूर्ण टिमलाई धन्यवादसमेत दिइन् ।

त्यस्तै, अभिनेता सोनम तोप्देनले निर्देशक अशोक थापा मगरले आफ्नो अभिनय क्षमतामाथि विश्वास गरेर चलचित्रमा अवसर दिएको बताए । एक समय अभिनय क्षेत्रबाट टाढिने सोचमा रहेका बेला निर्देशक मगरसँग भेट भएको र उनले चलचित्रमा काम गर्ने अवसर दिएको सोनमले उल्लेख गरे ।

उनले ‘जलाकी’ मगर समुदायको संस्कृति र परिवेशलाई सुन्दर ढंगले प्रस्तुत गरिएको प्रेमकथामा आधारित चलचित्र भएको बताए । चलचित्रले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्दै उनले परिवारका सबै सदस्यसँग बसेर चलचित्र हेर्न आग्रह गरे ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन लगायत शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनले अभिनय गरेका छन् । 

यसैगरी, फिल्मको विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर रहेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रका निर्माता ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।

नेपालभित्र भने फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ । फिल्म आगामी मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा छ ।